काठमाडौँ । होटेल संघ पोखरा नेपालद्वारा तिहारको अवसरमा आज लेकसाइडमा आयोजना गरेको १८औँ भाइटिका महोत्सवमा एक सयभन्दा बढी पर्यटकले सहभागिता जनाएका छन् ।
महोत्सवमा १५ भन्दा बढी देशका पर्यटकले भाइटिका लगाएका आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । संघले पोखरा र सिंगो नेपालको पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षणका लागि विविध महोत्सव आयोजना गर्दै आएको उल्लेख गर्दै उनले यस पटक भाइटिका महोत्सवमा पर्यटकको उल्लेख्य सहभागिताका कारण विशेष बन्न पुगेको बताए ।
महोत्सवमा ‘रेन्वो चिल्ड्रेन होम’का छात्राहरूले पर्यटकलाई टीका लगाइदिएका थिए । सहभागी पर्यटकलाई नेपाली ढाका टोपी र पछ्यौरा उपहार प्रदान गरिएको थियो । पर्यटकहरूले सेल रोटीलगायत नेपाली परिकार खानुका साथै दिउसो भैलो पनि खेलेका थिए ।
सप्तरंगी टीका लगाएका पर्यटकहरू नौलो अनुभव लिन पाएको भन्दै दंग थिए । अष्ट्रेलियाबाट आएकी पर्यटक एनीले आफू धेरै पटक नेपाल आएको र यस पटक नेपाल आएर टीका लगाउन पाउँदा हर्षित भएको प्रतिक्रिया दिइन् । नेपाल सांस्कृतिक रूपमा धनी रहेको र नेपालीको अतिथि सत्कारबाट आफू प्रभावित भएको उनको भनाइ थियो ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए । पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको उल्लेख गर्दै महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।







