काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत अनुमति नलिई खाद्य तथा पेय पदार्थ र आहारपूरक बिक्री गरेको आरोपमा दराज (दराज केमु प्रा.लि.)लाई स्पष्टीकरण माग गरेपछि दराजले आफ्नो लिखित जवाफ पेश गरेको छ।
विभागले मिति २०८२ असोज २३ गते जारी गरेको पत्रमार्फत दराजको अनलाइन पोर्टलमार्फत केही वस्तुहरू विभागको अनुमति बिना बिक्री वितरण भइरहेकोबारे उजुरी प्राप्त भएको जनाउँदै पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। साथै विभागले दराजलाई केवल अनुमति प्राप्त वस्तुहरू मात्र बिक्रीमा राख्न र अनुमति नभएका वस्तुहरू बिक्री नगर्न वा नगराउन चेतावनी दिएको थियो।
सोही निर्देशनपछि दराजले मिति २०८२ असोज २८ गते विभागमा आफ्नो लिखित जवाफ बुझाएको हो।
दराजले बुझाएको पत्रमा कम्पनीले आफू नेपालमा कानुनी रूपमा दर्ता भई वैध व्यवसाय सञ्चालन गर्दै आएको बताएको छ। कम्पनीका अनुसार दराजको प्लेटफर्ममा विभिन्न विक्रेताहरूले आफ्ना उत्पादनहरू स्वयं सूचीकृत गर्ने गर्छन् र दराजले ती वस्तुहरूको बिक्री वा उत्पादनमा प्रत्यक्ष संलग्नता राख्दैन। पत्रमा भनिएको छ—“दराजको प्लेटफर्ममा वस्तुहरूको विवरण, मूल्य र अन्य जानकारी विक्रेताले नै अपलोड गर्छन्। खरिदकर्ताले सो वस्तु खरिद गरेपछि दराजले केवल ढुवानी सुविधा प्रदान गर्छ।”
कम्पनीले आफ्ना बिक्रेताहरूसँग ‘मार्केटप्लेस एग्रिमेन्ट’ गरेको र उक्त सम्झौतामा बिक्रेतालाई नेपालका कानुन तथा सम्बन्धित सरकारी निकायबाट अनुमति प्राप्त वस्तु मात्र बिक्री गर्न निर्देशन दिइएको उल्लेख गरेको छ। दराजले समय–समयमा आफ्ना बिक्रेतालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुमति लिएर मात्र खाद्य वस्तु बिक्री गर्न सूचना पठाउने गरेको दाबी गरेको छ।
पत्रमा थप भनिएको छ–“हामीले बिक्रेतालाई अनुमति र दर्ता नभएका खाद्य वस्तुहरू बिक्री नगर्न निरन्तर सचेत गराउँदै आएका छौँ। अब उपरान्त पनि विभागको निर्देशन बमोजिम, अनुमति र दर्ता नभएका वस्तुहरूको बिक्री वितरण नगराउन हामी सधैँ तत्पर रहनेछौँ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका स्रोतका अनुसार अनलाइनमार्फत खाद्य तथा पेय पदार्थको बिक्री वितरणमा हालसालै अनुमति, दर्ता र गुणस्तर मापदण्डको उल्लङ्घनबारे बढ्दो गुनासोहरू आएका छन्। विभागले यसअघि पनि विभिन्न अनलाइन प्लेटफर्मलाई अनुमति नलिई खाद्य पूरक र पेय पदार्थ बिक्री नगर्न सचेत गराएको थियो।
विभागले पछिल्लो समय खाद्य पदार्थहरूको नियमनमा तीव्रता दिँदै कानुन विपरीत भेटिए कडा कारबाही गर्ने जनाउँदै आएको छ । साथै, उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने जोकोहीलाई कानुनी कारबाही गर्ने चेतावनीसमेत दिँदै आएको छ ।







