काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न नदिइने बताएका छन् । आज महोत्तरीको सोनमा गाउँपालिका-३ रघुनाथपुरमा रघुनाथपुर-सोनमा-तरहारी-सुन्दरपुर सडक शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले सरकार आमजनताको विकास चाहनालाई मूर्तरूप दिन काम गरिरहेको उल्लेख गरेका हुन्।
“सरकार विकास कार्यलाई द्रूत गतिमा बढाइ रहेको छ”, प्रधानमन्त्रीले भने, “मधेसमा यसको अनुभूति हुने गरी कामअघि बढेका छन् ।”
मधेसका रौतहट, सर्लाही र महोत्तरी जिलाको सिँचाइ प्रबन्धका लागि सुनकोशी मरिन डाइभर्सनको कामअघि बढेको प्रधानमन्त्रीले उल्लेख गरे । यसैगरी पूर्वी मधेसका जिल्लाको थप सिँचाइ प्रबन्धका लागि सुनकोशी कमला डाइभर्सनको काम बढाइने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पूर्वपश्चिम हुलाकी राजमार्गको काम निकै अघि बढेको उल्लेख गरे । “पूर्वपश्चिम हुलाकी सडकको काम त सकिएको हुन्थ्यो, तर केही ठाउँका पुलपुलेसा बन्न बाँकी रहेको र केही ठाउँमा आरक्ष क्षेत्र पर्दा केही अल्झेको छ”, प्रधानमन्त्रीले भने, “सरकार यसलाई चाँडै निर्क्योल गरेर अघि बढ्ने छ ।”
यसैगरी पूर्वपश्चिम राजमार्ग एसियाली मापदण्ड अनुसार छ लेनको बनाइन थालिएको उनले बर्ताए । यस्तै पूर्वपश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक चार लेनका बनेका उनले चर्चा गरे ।
मधेश यसपालि खडेरीको चपेटामा परेकैबीच आफू तीन साता पहिले महोत्तरी पुगेको सम्झना गर्दै त्यतिखेरै सिँचाइ प्रबन्धका लागि ५०० डिपबोरिंग जडानको काम थालिने आफूले बताएको स्मरण गरे ।
“अब त्योअनुसार डिपबोरिंङ धमाधम जडानको चरणमा छन्,” उनले भने । कतिपय ठाउँमा डिपबोरिंङ जडानसमेत भइसकेका प्रधानमन्त्रीले उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले अन्तराष्ट्रिय सम्बन्धहरूको विस्तार र आपसी समन्वयका विषयलाई महत्त्वका साथ अघि बढाएको चर्चा गरे । नेपालले यस्ता अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना पक्षका विषयहरू महत्त्वका साथ उठाएको उनको भनाइ छ । छिमेकी मुलुकसँगको सम्बन्ध प्रगाढ र विश्वासिलो बनेको उनले बताए ।
“छिमेकी मुलुकसँगका हाम्रा सम्बन्ध सुमधुर र आपसी हितमा केन्द्रित छन्,” प्रधानमन्त्रीले भने, “यसबीचमा हुने भ्रमणमा नेपालका लागि महत्त्वका विषयमा हामी छिमेकी मित्रराष्ट्रसँग विमर्श गर्छौँ ।” आफूले अबको एक महिनाभित्रै छिमेकी मित्रराष्ट्र चीन र भारतको भ्रमण तालिका बनी सकेको स्पष्ट पारे ।
समारोहमा प्रधानमन्त्री ओलीले आम मधेसीलाई शिक्षामा जोड दिन अपिल गरे। छोराछोरी सबै विद्यालय जाने र पढ्ने वातावरण निर्माणमा सबैको सहभागिता बढ्न आवश्यक रहेको उनको भनाइ छ ।
“विद्यालयलाई शिक्षा आर्जनको थलो बनाउन सबैले जिम्मेवारी बोध गर्नुपर्यो”, प्रधानमन्त्रीले भने, “यस कार्यमा सबैभन्दा बढी शिक्षकको सकारात्मक भूमिका आवश्यक छ ।” उनले संघीय लोकतान्त्रिक गणतन्त्रको असल अभ्यासले नै मुलुक अघि बढ्ने दृढता व्यक्त गर्दै इतिहास बनेको राजतन्त्र अब फर्कने कुरा कसैले सोच्नसम्म बेतुक हुने प्रधानमन्त्रीको भनाइ छ ।
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, मन्त्रीहरू, प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरूको उपस्थिति थियो ।







