काठमाडौँ । विदेशी भूमिमा रहेर नेपाली संस्कृति, धर्म र पहिचान जोगाउँदै आएका समाजसेवी गणेश प्रसाद पराजुली, आगामी एनआरएनए साउथ अस्ट्रेलियाको निर्वाचन (२०२५-२०२७) मा डेपुटी कोडीनेटर पदको उम्मेदवारी लिएर नेपाली समुदायको समर्पित नेतृत्वको खोजीमा अघि बढेका छन्।
प्रवासमा जीवन आफैँमा चुनौतीपूर्ण हुन्छ । नयाँ देश, भाषा, संस्कार, मौसम र जीवनशैली। यस्तो अवस्थामा पनि नेपाली कला, संस्कार र मूल्यमान्यता संरक्षणमा पराजुलीको भूमिका प्रेरणादायी रहँदै आएको छ।
उनले नेपाली भजन, कीर्तन समूह मार्फत समुदायलाई जोड्ने काम गर्नुका साथै दोस्रो पुस्तालाई धर्म र संस्कृतिमा आबद्ध गराउने अभियान चलाउँदै आएका छन्। साथै, नेपाली मौलिक पञ्चे बाजालाई एडिलेडको मञ्चमा गुञ्जाउँदै सांस्कृतिक चेतना फैलाउने कार्यमा समेत निरन्तर क्रियाशील छन्।
नेपाल फेस्टिवलमा “नेपाल हाउस” र ऐतिहासिक सामग्रीको भव्य प्रस्तुति गर्दै पछिल्लो नेपाल फेस्टिवलको अवसरमा पराजुलीले नेतृत्व गरेको टोलीले नेपाल हाउस, दरबार, इनार, मन्दिर, धारा, वेल, थाम, जस्ता संरचनात्मक प्रस्तुति मार्फत नेपालको ऐतिहासिक सम्पदालाई जीवित रूपमा देखाएका थिए नेपाली परम्परागत वाद्यहरू जस्तै मादल, धिमे, भुँगुरा, टुङना, बाँसुरी आदि बजाउँदै नेपाली सांस्कृतिक झल्को दिएको त्यो प्रस्तुति प्रवासमा नै नेपाललाई अनुभूत गराउने प्रयास थियो।
समावेशी सोच र सेवामूलक कार्यशैलीको प्रतिनिधि गर्दै
टिम एसएको नेतृत्वमा पराजुलीले नेपाली समुदायको भविष्यलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । समावेशी सोच, सबैको सहभागिता र सेवा भावनालाई केन्द्रमा राखी उनले सम्पूर्ण समुदायलाई एकै सूत्रमा बाँध्ने दृष्टिकोणमा अघि बढेका छन्।
टिम एसएले यही मार्गदर्शनलाई आधार बनाउँदै आगामी कार्यकालमा निम्न महत्त्वपूर्ण बुँदाहरूलाई प्राथमिकतामा राखेको छ ।
१ नेपाल फेस्टिवलहरूमा “नेपाल हाउस” मार्फत सांस्कृतिक सम्प्रेषण
२ पञ्चे बाजा र भजन समूहको संरक्षण तथा विस्तार
३ विभिन्न तह र वर्ग समेट्ने सहभागितामूलक कार्यक्रमहरू
४ संस्थाबीच सहकार्य र समन्वय
५ दोस्रो पुस्तालाई नेपाली संस्कारमा अभ्यस्त गराउने प्रयास







