धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको प्रति आपत्ति जनाएका छन् ।
बुधबार एक सूचना जारी गरी उनले छाताचोकमा रहेको पुरानो अस्पतालको जग्गा फिर्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गरेका हुन् । नगरवासीलाई लक्षित गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले नगर अस्पताल निर्माणको तयारी अघि बढाएको राईले बताए । तर राईले उक्त जग्गा बीपी प्रतिष्ठानलाई दिएको पाइएपछि जग्गा फिर्ता गर्न मन्त्रालयलाई अनुरोध गरेका हुन् ।
उक्त पत्रमा भनिएको छ, “धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर वीपी अस्पताललाई दिई पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला ।”








