गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा जंगली जनावर बँदेल (जंगली सुँगुर) ले मकैको बाली सखाप पार्न थालेपछि कृषकहरू चिन्तित भएका छन् । मुख्य बालीको रूपमा उत्पादन गरिने मकैमा यस वर्ष ठूलो नोक्सानी पुगेको छ । स्थानीय कृषकहरूका अनुसार बँदेलको झुन्ड रातिको समयमा बस्ती नजिकैका खेतबारीमा पस्ने र मकैको गोडमेलदेखि बोटसहित नष्ट गर्ने गरेको छ । यसबाट सयौँ रोपनी क्षेत्रफलमा लगाइएको मकै नष्ट भइसकेको छ ।
मालिका गाउँपालिका ५ का कृषक बाबुराम अर्याल भन्छन्, “हामीले धेरै मेहनत गरेर मकै लगाएका थियौँ । तर रातको समयमा बँदेलले बारीमा पसेर सबै मकै खाइदिन्छ । अब घर खर्च कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।” गाउँपालिकाले केही वर्षअघि काँडेतारको व्यवस्था गरेर कृषकलाई बालिनालीको सुरक्षाको प्रयास गरेको थियो तर कृषकहरूको अनुभवमा त्यो पूर्ण रूपमा प्रभावकारी बन्न सकेन ।
उनी भन्छन् बँदेलको आतंक यति डरलाग्दो छ कि हामी किसान रातभर जाग्राम बस्न बाध्य छौँ । बारीमा आगो बाल्ने, ड्रम पिट्ने, कराउनेजस्ता उपायहरू अपनाए पनि बँदेल धपाउन सकिएको छैन । बँदेलको झुन्ड ठूलो, तागतिलो र हिंस्रक हुने भएकाले प्राय हाम्रो प्रयास असफल हुन्छ । गाउँपालिका र प्रतिनिधिहरूलाई पटक पटक जानकारी गराएका छौँ । उनीहरूले पनि समस्या चिनेका छन् र समाधान खोज्ने प्रयास भइरहेको बताएका छन् । तर स्थायी समाधान अझै देखिएको छैन ।
यस्तै अर्का कृषक विष्णु प्रसाद अर्याल भन्छन्, “अबको केही हप्तामै बाली भित्र्याउने योजना थियो तर रातभर बारीमा पसेको बँदेलले मकै ध्वस्त पारिदियो । “काँडे तार केही समय जोगायो, तर बँदेलले कतैबाट तार पन्छाएर, कतै तार तानेर तोडेरै बारीमा पसे । यस्तो अवस्थामा हाम्रो कुनै उपाय चलेन ।”
बँदेलले गाउँपालिकाका जनप्रतिनिधिहरूका बारीमा पनि क्षति पुर्याएको छ । तर उनीहरूले वास्ता नगरेको त्यहाँका स्थानीयहरूले बताउँछन् । बँदेलको आतंकले गर्दा रातको समयमा कृषकहरू वारिको रेखदेख गर्न बाध्य भएका छन्, तर त्यसले पनि समस्या समाधान गर्न सकेको छैन । मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले जानकारी दिँदै भने, “यसबारेमा हामीले वन डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ ।
जंगली जनावरबाट बाली जोगाउने उपायका लागि योजना बनाउँदै छौँ ।”मकै गुल्मीका अधिकांश किसानका लागि मुख्य खाद्यान्न र आम्दानीको स्रोत हो । मकैमा आश्रित किसानहरूले राहत तथा क्षतिपूर्ति माग गरिरहेका छन् । कृषकहरू अबको दिनमा गाउँपालिका र सरोकारवाला निकायसँग तत्काल राहत, सुरक्षाका उपाय, र दीर्घकालीन समाधानको लागि संघीय सरकारसँग पनि पटक पटक अनुरोध गर्दा संघीय सरकारबाट कुनै ठोस समाधान निस्कन नसकेको उनले बताए ।
मालिकामा भौगोलिक दूरताको कारण बढी बँदेल आतंक छ । अध्यक्ष भन्छन्, “मेरो घरमा पनि बँदेलले मकै सबै सखाप पारिसक्यो । न त यसलाई समाउन सकिन्छ नत मार्ने अधिकार छ ।” कृषकको गुनासोलाई सम्बोधन गर्न संघीय सरकार, प्रदेश सरकार र वन तथा वातावरण मन्त्रालयले ठोस कदम उठाउन पर्ने अध्यक्ष अर्यालले बताए । उनले हामीले प्रभावित क्षेत्रमा तार जाली बाडेका छौँ तर त्यसबाट केही हद सुरक्षा भएता पनि समाधान निस्कन नसकेको उनले जानकारी दिए ।
उनले भने, “अब डिभिजन वन कार्यालयसँग समन्वय गरेर अन्य उपायहरू–सौर्य बत्ती, अलार्म प्रणाली, र सामुदायिक जनसहभागिता मार्फत बाली संरक्षण योजना ल्याउने सोचमा छौँ ।”
मकै यहाँको मुख्य खाद्यान्न बाली हो । पशुपालन, घरेलु उपयोग र खाद्य सुरक्षाको हिसाबले मकै अत्यन्तै महत्त्वपूर्ण छ । तर यस्तो अवस्था दोहोरिइरहँदा कृषकमा खेतीप्रतिको लगाव घट्दै गएको देखिन्छ ।
राज्यको ध्यान जंगली जनावरको संरक्षणमा मात्रै छ, किसानको संरक्षण र राहतमा नभएको स्थानीयहरूको गुनासो छ । गुल्मी जस्ता पहाडी जिल्लामा, जहाँ वैकल्पिक रोजगारीका अवसरहरू कम छन्, खेतीपाती र पशुपालन नै ग्रामीण जीवनको आधार हो । यस्तो अवस्थामा किसानको मिहिनेत सखाप हुने अवस्था आइरहँदा, उनीहरू खेतीमा मन लगाउने होइन, खाली बस्ने वा वैदेशिक रोजगारीतर्फ धकेलिने सम्भावना बढिरहेको छ ।







