काठमाडौँ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले मंगलबार ९३ जना विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले कलेजमा स्नातक तहको इन्जिनियरिङ र आर्किटेक्चर शैक्षिक कार्यक्रम २०७७, २०७८, २०७९ र २०८० मा भर्ना भई अध्ययनरत गरिब, जेहनदार तथा अनुशासित विद्यार्थीलाई ४४ लाख २८ हजार बराबरको छात्रवृत्ति रकम हस्तान्तरण गरेका हुन्।
नगरप्रमुख प्रजापतिले कमजोर विद्यार्थीलाई उत्कृष्ट अंकसहित परीक्षामा उत्तीर्ण गराउनमा शिक्षकको सफलता रहने बताए
नयाँ पुस्तामा सरकारप्रति अविश्वासले गर्दा नेपाली विद्यार्थी विदेश पलायन हुने प्रवृत्ति विकास भइरहेको बताउँदै उनले विद्यार्थीलाई परीक्षामा उत्तीर्ण मात्र होइन, आफूले अध्ययन गरेको विषयमा विशेषज्ञता हासिल गर्ने ढंगले उच्च शिक्षा अध्ययनमा जोड दिनुपर्ने बताए। साथै इन्जिनियरिङ विषयमा भ्रष्टाचार तथा आर्थिक अनियमितताका विषयहरू धेरै हुने गरेको हुँदा आफ्नो कार्यक्षेत्रमा सतर्कता अपनाएर काम गर्नुपर्ने बताए ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले आर्थिक वर्ष २०८१/८२ मा कलेजमा अध्ययनरत स्नातक तहका आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड अटोमेसन इन्जिनियरिङका विद्यार्थीलाई १ करोड ६० लाख ६९ हजार ३ सय २६ रुपैयाँ वितरण गरिएको कलेजले जनाएको छ। त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत स्नातक तहका सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङका विद्यार्थीहरूलाई १ करोड १० लाख ५९ हजार ५ सय ३३ रुपैयाँ वितरण गरिएको जनाएको छ। दुवै इन्जिनियरिङ कलेजको गरी जम्मा २ करोड ७१ लाख २८ हजार ८ सय ५९ रुपैयाँ छात्रवृति रकम वितरण गरिएको हो।







