काठमाडौँ । काठमाडौँको सिनामंगलबाट २ करोड बढी राजस्व छलीका विद्युतीय उपकरणसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका-३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय यु वाङलाई मंगलबार दिउँसो काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सिनामंगल पन्चमुखी चोकबाट पक्राउ गरेको छ ।
वाङले अवैध रूपमा विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा लगायत बिल बिजक नभएका राजस्व छली गरिएका सामान तथा पाटपूर्जा ल्याई भण्डारण तथा बिक्री गदै आएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको साथबाट बिना बिल बिजक राजस्व छली गरिएका २ करोड १९ लाख ७६ हजार ७ सय रुपैयाँ बराबरको विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा, एचडी क्यामेरा लगायतका सामान बरामद गरेको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय हरिहर भवन ललितपुर पठाइएको छ ।







