जनकपुरधाम । मधेस प्रदेश सरकारले चुरे क्षेत्रको विनास रोक्न तथा पर्यावरणको सुरक्षाका लागि वृक्षारोपण अभियान सुरु गर्ने भएको छ । अभियानअन्तर्गत मधेस प्रदेश सरकारले ८६ लाख बिरुवा रोपिनेछ ।
प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले उक्त अभियानअन्तर्गत प्रदेशका सडक पेटीमा मात्र चार लाख बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिए । “चालु आर्थिक वर्षमा ५० किमी सडक पेटी तथा २७८ हेक्टर क्षेत्रफलमा वृक्षारोपण हुनेछ,” घिमिरे भने।
मन्त्रालयबाट प्राप्त जानकारीअनुसार ८६ लाख बिरुवामध्ये ६२ लाख बिरुवा प्रदेश सरकारको बजेटबाट तथा बाँकी संघीय सरकारको सशर्त अनुदानमार्फत उत्पादन गरिने बताइएको छ । ती बिरुवाहरू सर्वसाधारणलाई नि:शुल्क रूपमा वितरण गरिने उनको भनाइ छ ।
उत्पादन भएका बिरुवामध्ये करिब आठ प्रतिशत बिरुवा सरकारी वन क्षेत्र तथा डिभिजन वन कार्यालयको मातहत रहने क्षेत्रमा रोपिने छ भने बाँकी ८० प्रतिशत बिरुवा निजी जग्गामा रोपिने छ । यसमार्फत हरियाली विस्तारसँगै वातावरणीय सन्तुलन कायम गर्ने सरकारको दिगो लक्ष्य छ ।
यस अभियानले वनजंगलको संरक्षण, चुरे क्षेत्रको संरक्षण हुने, नदी तथा भूमि कटान रोकथाम हुने र पर्यावरण सुरक्षा तथा सुधारमा सकारात्मक योगदान पुग्ने प्रदेश सरकारको विश्वास छ ।
डिभिजन वन कार्यालय धनुषा जनकपुरधामका वन अधिकृत अनिल साहका अनुसार धनुषा जिल्लाअन्तर्गत जनकपुर–ढल्केवर सडक खण्डको दुवै क्षेत्रको पेटीमा चार हजार ४०० बिरुवा रोप्न सुरु भइसकेको छ ।







