काठमाडौँ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।
असार ७ र ८ (हिजो र अस्ति) बसेको कार्यकारिणी समितिको बैठकले संसदीय दललाई समर्थनबारे पुनर्विचार गर्न निर्देशन दिएको प्रवक्ता मनिष सुमनले जानकारी गराएका छन् ।
‘केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारले देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यमा पूर्णतः असफल रहेकोले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थन बारे पुनस् विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ पार्टी निर्णयमा भनिएको छ ।
बैठकले विभिन्न पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गर्नेहरू शशि कपुर मियाँ (पर्सा), करिमा वेगम (पर्सा), सुधिर नाथ पाण्डे (पर्सा), कैलाश गुरुङ (रूपन्देही) र निलम यादव (रूपन्देही)लाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।







