काठमाडौँ । नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले सभापति शेरबहादुर देउवालाई उनकै निवासमा भेटेर निजामती विधेयकमा सुधारका सुझाव पेस गरेको छ।
आइतबार देउवा निवास पुगेका युनियनका कर्मचारीले अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा ६ महिनादेखि २ वर्षको संक्रमणकाल दिनुपर्ने, अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने, १२ वर्ष सेवा पुगेका कर्मचारीको एक तह बढुवा गर्नुपर्ने, उपसचिव र सहसचिवको परीक्षामा हालकै ५ वर्षे सेवा अवधि कायम राख्नुपर्ने र निजामती कर्मचारीको परिभाषामा तीनै तहका कर्मचारी समेट्नुपर्ने सुझाव बुझाएका छन्।
हाल राज्य व्यवस्था समितिबाट पारित भई संसद्को पूर्ण बैठकमा पुगेको यो विधेयकमा देउवाले संसदमार्फत संशोधनका लागि प्रयास गर्ने आश्वासन दिएका छन्।