काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ । सर्वोच्चले कारण देखाउ आदेशसहित अन्तरिम आदेशबारे छलफलका लागि बोलाएको छ ।
अधिवक्ता विशाल थापा लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक र गभर्नर डा. विश्वनाथ पौडेललाई विपक्षी बनाई शुक्रबार दायर गरेको रिट मङ्गलवार दर्ता भएको थियो । उक्त रिट बुधबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा पेशी तोकिएको थियो ।
रिटमा डा. पौडेललाई राजनीतिक पृष्ठभूमिको व्यक्ति भएको, मौद्रिक क्षेत्रको आवश्यक अनुभव नभएको र राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ । साथै, सिफारिस समितिका व्यक्तिले राजीनामा गरी निहित स्वार्थका आधारमा प्रतिस्पर्धाविना नियुक्ति गरेको रिटमा उल्लेख छ ।