काठमाडौं । गृहमन्त्री रमेश लेखकले कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन हुँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुनै उदाहरण नभएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्ला तीन आर्थिक वर्षमा अख्तियारमा दर्ता भएका ६४,०६१ उजुरीहरूको तथ्याङ्क प्रस्तुत गर्दै यो कुरा उल्लेख गरे। उनले भने, “कर्मचारीमाथि छानबिन हुँदैमा अहिलेसम्म कति मन्त्रीले राजीनामा दिए होलान्, तपाईँहरू आफैँ विवेचना गर्नुहोला।”
गृहमन्त्री लेखकले तीन आर्थिक वर्षको अवधिमा गृह मन्त्रालयको नेतृत्व विभिन्न तीन मन्त्रीले गरेको र तीमध्ये कसैले पनि कर्मचारीमाथिको छानबिनका कारण राजीनामा नदिएको जिकिर गरे। उनले सम्पूर्ण उजुरीहरू कुनै न कुनै मन्त्रालय, विभाग वा कार्यालयका राष्ट्रसेवक कर्मचारी वा सार्वजनिक पदाधिकारीमाथि हुने गरेको र अख्तियारले तीमाथि छानबिन र मुद्दा दर्ता गर्ने काम गरिरहेको बताए।
यसै क्रममा, गृहमन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराईको सरुवा सम्बन्धी विवादमा पनि आफ्नो धारणा राखे। उनले भट्टराईलाई आफूले अचानक सरुवा गरेर गृह मन्त्रालयमा नल्याएको र उनले २०७७ सालदेखि नै गृह मन्त्रालय मातहत विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएको स्पष्ट पारे। “मैले दिएको जिम्मेवारीभन्दा अरूले धेरै जिम्मेवारी दिएका व्यक्ति हुन्,” उनले भने, “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिसकेका व्यक्ति हुन्, यो विषयलाई गलत ढंगले प्रचार गरिएको छ।”
गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै यसलाई राजनीतिक पूर्वाग्रह र षड्यन्त्रको आधारमा आफूविरुद्ध नियोजित आक्रमण भएको बताए । उनले पत्रकार सम्मेलनमा भावुक हुँदै भने, “मैले पनि न्याय पाउनुपर्ने होला नि ? मेरा विरुद्ध कतै उजुरी छ ? मेरा विरुद्ध कहीँ छानबिन भइरहेको छ ? तर, मैले न्याय त माग्न पाउनुपर्ला ।” उनले सामाजिक सञ्जालमार्फत फैलाइएका भिजिट भिसा प्रकरण सम्बन्धी धारणाहरूलाई असत्य र बेठीक भएको ठहर गरे ।
लेखकले आफूविरुद्धको आक्रमणलाई राजनीतिक पूर्वाग्रहले प्रेरित र षड्यन्त्रमूलक भएको अनुभव गरेको बताए। उनले भने, “यो क्रम जारी छ, र यो नियोजित ढंगले भएको छ।” उनले राजनीतिक वा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमाथि निरन्तर छानबिन हुने गरेको भन्दै यस्ता विषयलाई सामान्य रूपमा लिन आग्रह गरे।