काठमाडौँ । रेडक्रस अन्तरराष्ट्रिय समितिको नेपालस्थित नियोगले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
आयोगकी अध्यक्ष लीलादेवी गडतौलासहितका पदाधिकारीसँगको शिष्टाचार भेटमा नियोग प्रमुख सन्देश श्रेष्ठले आयोगको प्रारम्भिक कार्यको प्रशंसा गरे । आयोगले छोटो समयमा हासिल गरेको प्रगति र चालेका कदमप्रति नियोगले सकारात्मक प्रतिक्रिया दिएको आयोगकी सदस्य तथा प्रवक्ता श्रृजना पोखरेलले बताइन्।
सदस्य पोखरेलका अनुसार, आयोगको आवश्यकताअनुसार सहयोग उपलब्ध गराउन नियोगले तत्परता देखाएको छ। सो अवसरमा नियोग प्रमुख श्रेष्ठले बेपत्ता व्यक्तिको छानबिन प्रक्रिया र विधिबारे जिज्ञासा राखेका थिए ।
आयोगले नयाँ पदाधिकारी नियुक्तिपछि आवश्यक सूचना प्रकाशन गरी सम्बन्धित कार्यालयमा पत्राचार गरिसकेको छ। ऐनअनुसार कार्य प्रारम्भ भएको र नियमावलीको मस्यौदा तयारी सुरु भएको आयोगले जनाएको छ। नियमावली तयार भएपछि आयोगले चारवर्षे कार्ययोजना बनाउने र द्वन्द्वपीडित तथा विज्ञहरूसँग छलफल गर्ने योजना बनाएको पोखरेलले बताइन् ।
आयोगले पीडितमैत्री ढङ्गले काम गर्ने प्रतिबद्धता यसअघि नै व्यक्त गरिसकेको छ।







