काठमाडौँ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि उनले पहिलो निर्णयका रूपमा पाँच सय र एक हजारका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
पदभार ग्रहणपछि गभर्नर पौडेलले मौद्रिक नीति र वित्त नीति फरक विषय भएको प्रष्ट पारे । उनले भने, “मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो । तर, सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौँ ।”
यसैबीच, गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषयलाई गभर्नर पौडेलले आन्तरिक मामिला भएको बताए ।