काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालाजुस्थित तत्कालीन चलचित्र विकास कम्पनीको अतिक्रमित २७ रोपनी जग्गा सरकारको मातहतमा ल्याउन निर्देशन दिएका छन् ।
‘सिनेपा:’ छायांकन स्टुडियोको निर्माण सुरु भएको घोषणा गर्न आयोजित समारोहमा उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र सञ्चार सचिव राधिका अर्याललाई उक्त जग्गा सरकारको नियन्त्रणमा ल्याउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले हप्ता १० दिनभित्र यसबारे पत्ता लगाएर, कानूनी प्रक्रिया पुरा गरेर सरकारको नियन्त्रणमा ल्याउन निर्देशन दिए ।
सुरुमा २७ रोपनी रहेको उक्त जग्गा अहिले अतिक्रमणको चपेटामा परेर ७ रोपनीमा खुम्चिएको छ । तत्कालीन चलचित्र विकास कम्पनीले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन समितिबाट जग्गा लिजमा लिएको थियो । त्यसपछि अतिक्रमणको मारमा परेको जग्गाको क्षेत्रफल खुम्चिँदो छ ।
अहिले रहेको ७ रोपनी जग्गा मध्ये पनि बाँकी ४ रोपनी विभिन्न व्यावसायिक कम्पनीलाई भाडामा दिइएको छ ।
मंगलबार बालुवाटारमा आयोजित समारोहमा पूर्वमन्त्री गोकुल बासकोटाले नै यो जग्गाको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।