काठमाडौँ । गृहमन्त्री रमेश लेखकले थुनुवा र कैदी बन्दीको मानवअधिकारप्रति सरकार संवेदनशील रहेको बताएका छन्। मोरङ कारागारको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा मानवअधिकार सर्वोपरि हुने उल्लेख गरे।
“लोकतन्त्रको आधार नै मानवअधिकार हो। थुनुवा वा कैदी बन्दीको मानवअधिकारप्रति सरकार सचेत छ,” उनले भने।
गृहमन्त्री लेखकले कारागारमा कैदी बन्दीको संख्या बढ्दा जोखिम रहेको बताउँदै यसलाई व्यवस्थित गर्न सरकार प्रयासरत रहेको उल्लेख गरे। “यो नयाँ भवन कारागार व्यवस्थापनको उदाहरण हो। खुला कारागार र सुधार गृहको अवधारणालाई अगाडि बढाउन जरुरी छ,” उनले थपे।
उनले कारागारलाई उद्योगग्रामका रूपमा विकास गर्ने योजना रहेको बताए। “कैदीबन्दीले कारागारमा सीप सिकेर उत्पादनमा जोडिनुपर्छ। यसले आयआर्जनमा सहयोग गर्छ,” उनले भने। मोरङ कारागारमा अत्याधुनिक मेसिनबाट कपडा बुन्ने काम भइरहेको उनले जानकारी दिए।
“कारागारबाट निस्कँदा कैदीबन्दी नयाँ चेतना र सोचसहित समाजमा फर्कनुपर्छ। त्यसका लागि कारागारलाई आधुनिक बनाउने प्रयासहरू भई रहेका छन् ।
गृहमन्त्री लेखकले वर्तमान सरकारले मुलुकमा स्थिरता कायम गरेको र आर्थिक गतिविधिमा सुधार आएको दाबी गरे। “सरकार गठन भएको १० महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपरेको छैन। यो स्थिरताले आर्थिक सुधारमा योगदान पुर्याएको छ,” उनले भने।
उनले सरकारले निराशालाई आशामा बदल्न र नीतिगत सुधारमा जोड दिएको बताए। “हामी आशा जगाउने दिशामा अगाडि बढेका छौँ,” उनले थपे।