कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गौतम बुद्ध शान्ति र अहिंसाका लागि विश्वकै प्रेरणाका स्रोत भएको बताएका छन् । बुद्ध जन्म जयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कँडेलले स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्णमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
उनले भनेका छन्, “गौतमबुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति परिवार, समाज, देश, विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने मैले विश्वास लिएको छु ।” मुख्यमन्त्री कँडेलले शान्तिदूत गौतमबुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढीकरणमा सहयोग पुग्ने बताएका छन् ।
बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै उनले एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।