इलाम । जिल्लामा परम्परागत (रैथाने) बाली र जैविक कृषिका विषयमा बहस र चासो बढ्दै गएको छ । स्थानीय किसानले परम्परागत रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा सक्रियता देखाएका छन् भने, सरकार र विभिन्न निकायले पनि यसमा ध्यान दिन थालेका छन् ।
राष्ट्रिय कृषक समूह महासंघ, इलाम नगर समितिको आयोजनामा हालै ‘कृषि विकासको बदलिँदो परिवेशमा रैथाने बाली प्रवर्द्धनको औचित्य’ विषयमा छलफल गरिएको थियो । कार्यक्रमका सहभागीले रैथाने बालीको बहु आयामिक महत्वलाई सरकारले ध्यान दिनुपर्ने बताएका थिए । इलाम सामुदायिक कृषि क्याम्पसका क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्ठले उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनसँग अनुकूल हुने बालीको महत्त्व तीन तहका सरकारले बुझ्न आवश्यक रहेको बताए ।
इलाम नगरपालिकाका प्रवक्ता नतनदेव दुलालले स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । “सरकारले रैथाने बाली संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ, कृषि ज्ञान केन्द्रले समेत किसानलाई रैथाने बालीको उत्पादन र बजारीकरणमा सहयोग पुर्याउने प्रयास गरेकै छ”, उनले भने । प्रवक्ता दुलालका अनुसार होमस्टे सञ्चालकलाई रैथाने परिकार बनाउने तालिमले कृषि पर्यटनलाई प्रोत्साहन दिएको छ । यसले रैथाने बालीको महत्वलाई उजागर गर्छ ।
रैथाने बाली जस्तै कोदो, फापर, चिनो, उवा, जौँ, कागुनो आदिका उत्पादनमा पोषणत्व प्रचुर मात्रामा पाइन्छ । यी बाली कम मल र पानीमा पनि राम्रो उत्पादन दिन्छन् र जलवायु परिवर्तनसँग अनुकूल छन् । यसका साथै यी बालीको संरक्षणले खाद्य सुरक्षा र जैविक विविधता कायम राख्न मद्दत पुर्याउने प्रवक्ता दुलालको भनाइ छ ।
“रैथाने बालीको उत्पादन घट्दै गएको छ, यसका मुख्य कारणमा परम्परागत खेतीप्रतिको चासो घट्नु, आधुनिक बालीको प्रयोगमा वृद्धि र प्रशोधन र बजारीकरणका चुनौती छन् । किसानले रैथाने बाली उत्पादनमा कमाइको अवसर नपाउँदा अन्य नगदे बालीतर्फ आकर्षित भएका छन्”, उनले भने ।
इलाममा रैथाने बाली र जैविक कृषिका विषयमा बहस र चासो बढ्दै गएको छ । स्थानीय किसान, सरकार र विभिन्न निकायले मिलेर यी बालीको संरक्षण र प्रवर्द्धनमा सक्रियता देखाउन आवश्यक रहेको किसान रविन सापकोटाले बताए । यसले खाद्य सुरक्षा, पोषण र जैविक विविधता कायम राख्न मद्दत पुर्याउने उनको विश्वास छ ।
राष्ट्रिय कृषक समूह महासंघ, नेपालका संस्थापक अध्यक्ष एवं खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जैविक खेती र रैथाने बालीको संरक्षणका लागि सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्ने जरुरी रहेको बताए ।