काठमाडौँ । इन्जिनियर दीपेन्द्र कुमार साहले खानेपानी मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफमा १३ पन्ने विस्तृत लिखित स्पष्टीकरण पेश गरेका छन् । मन्त्रालयको मिति २०८१/०१/१९ को पत्रअनुसार प्रचलित कानुन विपरीत काम गरेको भन्दै सोधिएको तीन बुँदे स्पष्टीकरणको जवाफमा साहले ९ पन्ने स्पष्टीकरण र आवश्यक कागजातसहित १३ पन्ने दस्तावेज तयार पारी बुझाएका हुन् ।
उक्त स्पष्टीकरण १५ वटा निकायमा बोधार्थ पठाइएको छ, जसमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, गृहमन्त्री, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायतका महत्वपूर्ण निकाय समावेश छन् ।
स्पष्टीकरणको पृष्ठभूमि
इन्जिनियर साहले आफ्नो करियरको सुरुवात २०६९ मा राष्ट्रिय सतर्कता केन्द्रमा इमानदार र कर्तव्यनिष्ठ कर्मचारीको रूपमा गरेको उल्लेख गरेका छन् । करिब १२ वर्ष सतर्कता केन्द्रमा सेवा गरेपछि मधेश प्रदेशको विदेह नगरपालिकामा इन्जिनियर र प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरेको बताएका छन् । त्यहाँ भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदा आफ्नो सरुवा खानेपानी मन्त्रालयमा भएको उनको जिकिर छ । मन्त्रालयले उनलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, जनकपुरमा कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो ।
तर, मिति २०८१/११/१९ देखि २०८१/१२/२८ सम्मको ३६ दिने कार्यकालमा साहमाथि मन्त्रीका नजिकका व्यक्तिहरूले गैरकानुनी कामका लागि दबाब दिएको र त्यसलाई अस्वीकार गर्दा उनको सरुवा गरिएको दाबी गरिएको छ । मन्त्रालयले उनलाई व्यावसायिकता, इमानदारी र नैतिकता प्रदर्शन गर्न नसकेको, कर्मचारीहरूलाई करकाप र धम्की दिएको र मन्त्रालयविरुद्ध गलत प्रचार गरेको जस्ता आरोप लगाएको छ ।
स्पष्टीकरणका मुख्य बुँदाहरू
साहले आफूमाथि लागेका तीनवटा आरोपको विस्तृत खण्डन गरेका छन् ।
१. व्यावसायिकता र नैतिकताको कमी : साहले आफ्नो ३६ दिने कार्यकालमा चारवटा ठूला ठेक्काको सूचना प्रकाशन गरेको, चालु ठेक्काहरूको अनुगमन गरी कार्य प्रगति बढाएको र कार्यालयलाई गतिशील बनाएको दाबी गरेका छन् । उनले आफ्नो व्यक्तिगत खर्चबाट रासन खरिद गरेको, मन्त्रीका नजिकका व्यक्तिले मागेको ७ करोडको डीप बोरिङ कार्य उपभोक्ता समितिमार्फत गर्न अस्वीकार गरेको र कुनै पनि निर्माण व्यवसायीसँग अनुचित सम्बन्ध नराखेको जनाएका छन् । उनले आफूभन्दा माथिका कर्मचारीलाई सम्मान र मातहतका कर्मचारीलाई अनुशासित बनाएको प्रमाणका रूपमा कार्यालयका कर्मचारीहरूले उनको सरुवा फिर्ताको माग गर्दै लेखेको सामूहिक पत्र समावेश गरेका छन् ।
२. कर्मचारीलाई करकाप र मन्त्रालयविरुद्ध प्रचार : साहले कुनै पनि कर्मचारीलाई करकाप वा धम्की नदिएको र मन्त्रालयका उच्च अधिकारीहरूले उनको गुनासो नसुनेपछि मुख्य सचिव र प्रधानमन्त्रीसमक्ष निवेदन पठाएको उल्लेख गरेका छन् । उनले मन्त्रालयका सचिव प्रमीला देवी शाक्य बज्राचार्यलाई १३ पटक फोन, ६ पटक म्यासेज र ५ पटक भेट्न खोज्दा समेत सम्पर्क नभएको र उल्टै ब्लक गरिएको उल्लेख गरेका छन् ।
३. अनधिकृत रूपमा सञ्चारमाध्यममा सूचना प्रसारण : साहले आफूले कुनै पनि सञ्चारमाध्यमलाई सम्पर्क नगरेको र मन्त्रालयका योजनाहरूको जानकारी रातो किताबमा उपलब्ध रहेको बताएका छन् । सञ्चारमाध्यममा आएका समाचारहरू पत्रकारहरूले आफ्नै स्रोतबाट प्राप्त गरेको उनको भनाई रहेको छ ।
मन्त्री यादव र उनका सहयोगीको भूमिका
साहले खानेपानी मन्त्री प्रदीप यादव र उनका नजिकका व्यक्ति एजाज बाबु राँकी तथा निजी सचिव भक्तराज जोशीले गैरकानुनी कामका लागि दबाब दिएको आरोप लगाएका छन् । मन्त्रीले उनलाई करार कर्मचारी हटाउने, एजाजको कुरा मान्ने र ठूला ठेक्काहरू मन्त्रीसँग समन्वय गरी गराउने निर्देशन दिएको उनको दाबी छ । यस्तै, एजाजले ७ करोडको डीप बोरिङ कार्य उपभोक्ता समितिमार्फत गराउन र भवेश मिश्र नामक व्यवसायीलाई काम दिन दबाब दिएको, तर साहले कानुनी प्रक्रिया पालना गर्नुपर्ने अडान राख्दा उनको सरुवा गरिएको बताएका छन् ।
मन्त्रीले उनलाई आवासमा तीनपटक बोलाएर असभ्य व्यवहार गरेको, जंगली शैलीमा आदेश दिएको र सरुवाको धम्की दिएको साहको आरोप छ । उनले मन्त्रीको निजी सचिव जोशीले राणा शासन शैलीमा हुकुम गरेको र मन्त्रालयमा मन्त्रीको कुरा नै कानुन भएको भन्दै दबाब दिएको उल्लेख गरेका छन् ।
सुरक्षा खतरा र गृहमन्त्रीलाई अनुरोध
साहले मन्त्रीको शक्ति दुरुपयोगका कारण आफू र आफ्नो परिवारमाथि सुरक्षा खतरा रहेको महसुस गरेको उल्लेख गर्दै गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेर एक इमानदार राष्ट्रसेवक र नागरिकको हैसियतमा आफू र परिवारको सुरक्षाको व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।

मन्त्रालय र कर्मचारीको भूमिका
साहले मन्त्रालयका सचिव प्रमीला देवी शाक्य बज्राचार्य, सह-सचिव राम बाबु पुरी, सह-सचिव रमाकान्त दुवाडी र महानिर्देशक राम कुमार श्रेष्ठसँग आफ्नो गुनासो राख्दा कसैले पनि सहयोग नगरेको जनाएका छन् ।
सह-सचिव पुरीले “यो देश यस्तै हो, कुहिनाले पहाड हट्दैन” भन्दै चुप लाग्न सुझाएको र सचिव शाक्यले भेट्न नमानेर म्यासेजमा ब्लक गरेको उनको भनाई छ ।
साहले आफूले गरिब जनताको करबाट शिक्षा आर्जन गरेको र राज्यप्रति बफादार रहेको जनाउँदै मन्त्रालयका बेथिति (ठेक्का प्रक्रिया, उपभोक्ता समितिमार्फत हुने काम, करार कर्मचारी भर्ना, गाडी र इन्धनको दुरुपयोग) माथि छानबिन गरी दोषीमाथि कारबाही गर्न अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र र अन्य निकायमा अनुरोध गरेका छन् । साथै, उनले आफ्नो मानव अधिकार हनन भएको भन्दै संरक्षणको माग गरेका छन् ।
यो घटनाले खानेपानी मन्त्रालयमा भ्रष्टाचार र शक्ति दुरुपयोगको गम्भीर प्रश्न उठाएको छ । पछिल्लो समय प्रशासन डटकमले मन्त्रीको आदेशमा भईरहेका मन्त्रालयका बेथितिबारे निरन्तर समाचार प्रकाशन गर्दै आएको छ ।