काठमाडौँ । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबार (वैशाख २७) देखि सुरु हुँदैछ। वैशाख २७ देखि ३० गतेसम्म सञ्चालन हुने यो समिटको उद्घाटन ललितपुरस्थित होटेल हिमालयमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्नेछन्।
नेपाल प्रेस युनियनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपालको पत्रकारिता इतिहासमा पहिलो पटक ठूलो अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना हुँदै र यो समिटले पत्रकारिता र सामाजिक रूपान्तरणबीचको सम्बन्धमा गहन बहस गरी नयाँ दिशा प्रदान गर्ने विश्वास लिएको जनाएको छ ।
उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित विभिन्न देशका पत्रकारहरू सहभागी हुने जनाइएको छ । चार दिने समिट काठमाडौँबाट सुरु भई पोखरा हुँदै मुस्ताङको लोमान्थाङसम्मको यात्रासहित सञ्चालन हुनेछ।
समिटमा नेपाल र दक्षिण एसियाली मुलुकमा पत्रकारिताले सामना गरिरहेका चुनौती, अवसर, प्रविधिको प्रभाव, जलवायु परिवर्तन र प्रेस स्वतन्त्रताका विषयमा छलफल हुनेछ।
पहिलो दिन (वैशाख २७, काठमाडौँ): उद्घाटन सत्रपछि ‘राजनीतिक दल, नागरिक समाज, लोकतन्त्र र पत्रकारिता: को कति नजिक, को कति टाढा ?’ विषयमा कार्यपत्र प्रस्तुत हुनेछ। डा. हरि शर्माको कार्यपत्रमाथि दिलेन्द्र बडु, पार्वत गुरुङ, रेखा शर्मा, डा. भासिल सोतिरोभ र पत्रकार शिव गाउँलेले टिप्पणी गर्नेछन्।
दोस्रो दिन (वैशाख २८, पोखरा): तीन विषयगत सत्रहरू सञ्चालन हुनेछन्। पहिलो सत्र ‘जलवायु संकट र पत्रकारिता’, दोस्रो ‘एआई र दक्षिण एसियामा नयाँ मिडिया’ र तेस्रो ‘प्रेस स्वतन्त्रता: अभ्यास र चुनौती’ मा केन्द्रित हुनेछ।
तेस्रो दिन (वैशाख २९): पोखराबाट मुस्ताङसम्म मिडिया यात्रा आयोजना गरिनेछ।
चौथो दिन(वैशाख ३), जोमसोम: स्थानीय समुदायको सहभागितामा जलवायु संकट र पत्रकारिताको भूमिकामा वृहत् अन्तरक्रिया हुनेछ। सोही दिन ‘लोमान्थाङ घोषणापत्र’ जारी गर्दै समिट समापन गरिनेछ।