काठमाडौँ। कर्णाली प्रदेश सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत तीन वटा महत्त्वपूर्ण निर्णय पारित गरेको छ।
शुक्रबार दिउँसो ३ बजे बसेको बैठकले ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ फिर्ता लिने निर्णय गरेको छ।
त्यसैगरी उक्त ऐन संशोधन गर्न नयाँ विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति पनि दिएको छ। त्यस्तै, ‘कर्णाली प्रदेश सशर्त अनुदान सम्बन्धी कार्यविधि, २०८२’ लाई स्वीकृति दिइएको छ।
साथै ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ मा प्रशासन तथा विधेयक समितिबाट परिमार्जन गरिएका प्रावधानसहित सो विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्तामार्फत जानकारी गराइएको छ।