काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले लेखक विचार उत्पादनका केन्द्र भएको उल्लेख गर्दै हरेक स्रष्टाले सिर्जनाका माध्यमबाट नवीन चिन्तन गरिरहने उल्लेख गरेका छन् ।
नेपाली लेखक संघको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आज राष्ट्रपति कार्यालयमा बधाई तथा शुभकामना दिँदै उनले भने, “लेखक स्वयंमा सत्ता हो, संगठन, विचार र आफैँमा अभियान पनि हो।”
मुलुकभरका ३०१ प्रतिनिधि सहभागी संघको गत चैत १६ र १७ गते लुम्बिनीमा आयोजित आठौँ राष्ट्रिय अधिवेशनले वियोगी बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो।
उक्त कार्यसमितिलाई राष्ट्रपतिले आज एक कार्यक्रमबीच बधाई तथा शुभकामना दिनुभएको हो। उनले संघले लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र प्रकाशन स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएको इतिहाससमेत रहेको स्मरण गरे।
लेखक संघले स्थापनाकालदेखि नै लोकतान्त्रिक मूल्यमान्यताको रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले सर्जकहरूको सामूहिक प्रयत्नलाई आफ्नो आदर्श मानेको उनको राष्ट्रपतिको भनाइ थियो। उनले भन्नुभयो, “यी कुराहरू लोकतान्त्रिक व्यवस्थाको आदर्शका लागि पूर्वसर्त हुन्।”
राष्ट्रपति पौडेलले भर्खरै जन्मेको शिशु प्रजातन्त्रलाई संस्थागत गर्नुपर्ने ऐतिहासिक आवश्यकताका खातिर सर्जकहरूले आफ्नो सामाजिक दायित्व लेखक संघमार्फत पूरा गर्न खोजेको यसका पुराना दस्ताबेजहरूले देखाएको बताए।
लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समजस्ता साहित्यिक महारथीहरू संगठित भएको लेखक संघमा विश्वेश्वरप्रसाद कोइराला र हृदयचन्द्रसिंह प्रधानलगायतका हस्तीहरू पनि एकबद्ध भएको उनले चर्चा गरे। लोकतन्त्रवादी लेखक लोकतान्त्रिक प्रणालीका पक्षधर भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सात दशक लामो प्रक्रियामा लोकतन्त्रका आदर्शहरू धेरै सन्दर्भमा विशिष्टीकृत भएको विचार व्यक्त गरे।
कार्यक्रममा संघका अध्यक्ष वियोगी बुढाथोकी, सहअध्यक्ष मनोज न्यौपाने, उपाध्यक्षहरु डा. शशि थापा पण्डित, डा विष्णु केसी, उपमहासचिव नारायण सापकोटाका साथै केन्द्रीय सदस्यहरू महेन्द्र वाग्ले, इन्द्र लम्साल, सन्तोष बोहरा, शोभा अधिकारी, इन्दिरा निरौला, राजन बस्नेतसँगै संघका सल्लाहकारहरू डा. विष्णुविभु घिमिरे, सन्ध्या पहाडी, शेखर गिरीलगायतको उपस्थिति थियो।
नेपाली लेखक संघको स्थापना २००८ सालमा भएको हो। नेपालको पहिलो प्रजातान्त्रिक परिवर्तनपछि स्वतन्त्र विचारधारा भएका लेखकहरू संगठीत भएर संघको स्थापना गरेको इतिहास छ। विसं २०१७ पछिको पञ्चायती कालखण्डमा निष्क्रिय रहेको संघ, २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुन:स्थापित भएपछि नयाँ संरचनासहित पुन:क्रियाशील बनेको हो।
नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि विविध भाषा र संस्कृतिका लेखकहरूलाई समान अवसर प्रदान गरी अघि बढ्न प्रेरित गर्नु, लेखकको हकअधिकारको रक्षाका निम्ति सिर्जनात्मक स्वतन्त्रतालाई कानुनी र संस्थागत रूपमा सुरक्षित राख्नु यसको ध्येय रहेको छ।