काठमाडौँ। भारत-पाकिस्तानबीच तनाव उत्पन्न भएपछि सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ ।
पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले भारतर्फका सीमा क्षेत्रहरूमा १ हजार ८४४ स्थानमा चेकप्वाइन्ट राखेर सीमा जाँच गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार पछिल्लो ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पेट्रोलिङ गस्ती गरिएको छ ।
वैशाख २३ गते बिहानदेखि बिहीबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोलिङ गरिएको छ ।
भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पट्रोल वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै एकल पट्रोल वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको छ ।
सोही अवधिमा सीमा इलाकाका १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको छ । वैशाख २३ गते ५ सय ६४, वैशाख २४ गते ६ सय ४० र वैशाख २५ गते ६ सय ४० ठाउँमा गरी १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको हो । सीमामा गस्ती पट्रोल तथा चेकजाँच कार्यलाई निरन्तरता दिइएको छ ।
उक्त क्षेत्रहरूमा सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयहरूबाट १० हजार भन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ ।
सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरूसँग समन्वय गरी सूचना आदान-प्रदान गरी सीमामा आवतजावत गर्नेहरूलाई निगरानी गर्ने कार्य समेत कडाईकासाथ गरिएको प्रहरीले जनएको छ ।