काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) र नेपाल पोलिसी इन्स्टिच्युट (एनपिआइ) बीच शिक्षा र अनुसन्धानका क्षेत्रमा पारस्परिक चासोका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।
धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय र नेदरल्यान्डस्को हेगस्थित एनपिआइले ललितपुरको बालकुमारीमा अवस्थित विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा आयोजित एक कार्यक्रमबीच समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै संस्थाबीच संयुक्त अनुसन्धान, प्रकाशन तथा अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीहरूको आदानप्रदानमा सहकार्य गर्ने विषयमा सहमति भएको छ ।
सार्वजनिक नीतिका क्षेत्रमा संयुक्त अनुसन्धानका लागि अनुदान परिचालन गर्ने विषयमा सहमति भएको छ । दुवै पक्षले एकअर्काका अनुसन्धान पहलहरूलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समझदारीपछि काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले उक्त समझदारीले विश्वविद्यालय र विश्वव्यापी शैक्षिक समुदायबीच आदानप्रदानको अवसर सृजना गर्ने बताए । उनले भने, “एनपीआइको विश्वव्यापी प्रवासी विज्ञ सञ्जालले केयुका शैक्षिक कार्यक्रमहरूमा छोटो वा लामो अवधिमा योगदान पुर्याउन सक्छ ।”
कार्यक्रममा एनपिआइको सञ्चालक समितिका अध्यक्ष डा. खगेन्द्र ढकालले संस्थाले नेपाल र विदेशमा नीति अनुसन्धान तथा थिंक् ट्यांक प्रणाली सुदृढीकरणमा खेलेको भूमिकाबारे चर्चा गरे । उनले भने, “यस सहकार्यले विदेशमा रहेका नेपाली प्रतिभाहरूलाई नेपालमा केन्द्रित भएर आफ्नो विशेषज्ञता प्रदर्शन र प्रयोग गर्न मद्दत पुर्याउनेछ, जसले अन्ततः देशलाई फाइदा पुर्याउने छ ।”
काठमाडौँ विश्वविद्यालय सन् १९९१ मा स्थापना भएको नेपालकै अग्रणी विश्वविद्यालय हो । विश्वविद्यालयका केन्द्रीय तथा आङ्गिक क्याम्पसहरूमा करिब २२ हजार विद्यार्थी अध्ययनरत छन् । एनपीआइ सन् २०१७ नेदरल्यान्डस्मा स्थापित नीति अनुसन्धान संस्था हो, जसको विश्वव्यापी सञ्जालमा एक हजार २६० भन्दा बढी प्रवासी विज्ञहरू आबद्ध छन् ।