काठमाडौँ। सुर्खेतको भेरीगंगामा एक युवती मृत भेटिएकी छिन् । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली आइतबार दिउँसो मृत भेटिएकी हुन् ।
भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा मृत भेटिएकी ओलीको आइतबार बेलुका मात्रै शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा पुगेका आफन्तले ओलीको शव पहिचान गरेका हुन् । रत्न राजमार्गको छिन्चु-सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दुरीमा उनको शव भेटिएको थियो ।
पानीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी शनिवार बिहान घरबाट छिन्चु बजार जान्छु भन्दै हिँडेको र घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।
उनका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको र घरमा सासू, ससुरा, एक छोरी सहित उनी बस्दै आएकी थिइन् ।
अनुसन्धानका लागि प्रहरीको केनाई शाखा नेपालगन्जबाट कुकुरसहितको टोलीसमेत पुगेको छ । घटनास्थलको मुचुल्का तयार गरे पोस्टमार्टमका लागि शव पठाइएको प्रहरीले जनाएको छ ।