सेवा निवृत्त राष्ट्रसेवक भागवत खनालको पहिलो पुस्तक बाबा मेरो पीआर आयो नामक कथा सङ्ग्रहले एक पटक नेपाली साहित्यका पाठकमाझ ठूलो हलचल मच्चाएको थियो । साथीहरुबिच उनका कथाको चर्चा चुलिएपछि मैले पनि उक्त पुस्तक पढेँ । उक्त किताबको शीर्षक कथामा विदेश जान र त्यहीँ बस्नका लागि नेपाली युवाले चालेका पाइला, उनीहरूको सोच र त्यसले पार्ने सामाजिक असर, यी सबै कुरालाई एकमुष्ट सम्बोधन गर्ने उनको कथा शिल्प देखेर म छक्क परेकी थिएँ ।
भागवत खनालका नाममा छापिएर फेसबुकका भित्तामा देखिने कविता, निबन्ध, कथा, समीक्षा अथवा हास्यव्यङ्ग्य जुनसुकै विधाका लेख मात्र नबिराई पढ्ने एउटी पाठक हुँ म । फिल्मी दुनियाँको कुरा गर्दा राजेश हमालको फ्यान हुँ भन्छन् नि मान्छेहरू, हो त्यस्तै म पनि भागवत खनालका शब्दशील्पको फ्यान हुँ । पौराणिक आख्यानभित्रका विविध प्रसङ्गलाई समसामयिक पृष्ठभूमिमा ढालेर निबन्धलाई अझै जीवन्त पार्ने उनको त्यो प्रतिभाको महक अति प्रशंसनीय छ । उसो त, निबन्धमा जस्तै उनका कथाहरू पनि पूर्वीय दर्शनशास्त्रको गहिरो अध्ययनले निथ्रुक्कै रुझेका हुन्छन् । अहिले जून ताराको देशमा बस्नुहुने मेरा मातापिताले धेरै अघि सुनाउनु भएका महाभारत र रामायण जस्ता ऐतिहासिक हिन्दूग्रन्थका कथाहरू र त्यसमा पनि विशेषतः अठार अध्यायको मोक्ष शास्त्र लेखक भागवत खनालका निबन्धमा पनि रहेको पाउँदा म खुसीले गद गद भइगएँ ।
साँच्चै भन्नुपर्दा, आत्म बोध सङ्ग्रहभित्रका तीसवटा निबन्ध पढिसकेपछि पश्चिमतिरको ग्रामिण भेगमा बोलिने भिन्नै भाका अनि कहिल्यै नसुनेका शब्द चयनले मलाई पार्नुसम्म मोहित पारेकै हो । पूर्वको झापामा जन्मिएकी म, सायद मलाई एक किसिमको घमण्ड थियो आफ्नो जन्मथलोप्रति । पश्चिम, अझ सुदूरपश्चिमलाई अविकसित र दुर्गम क्षेत्रको नाममा भ्रामक पाठ पढ्दै हुर्किएका हौँ हामी । ताना शर्माको घनघस्याको उकालो चढ्दा, अहिले प्रतीक ढकालको उज्यालो कर्णाली भैसकेको छ । यसरी बिस्तारै मुलुकले आफ्नो नामको परिभाषा फेर्दै छ । जति धेरै लेखक साहित्यमा उदाउँछन् त्यति नै धेरै विविध विधाका स्तरीय पुस्तकहरू लेखिन्छन् । किनभने आजको पाठक सचेत छ, उसले किताब पढ्नुभन्दा अघि समीक्षा, समालोचनाबाट पनि केही कुरा बुझ्न सक्छ । यो साइवरीय जगत्मा विभिन्न माध्यमबाट पनि पाठक आफ्नो स्वाद अनुसारको उम्दा पुस्तक छनौट गर्न सक्छ ।
अब लागौँ आत्मबोधतर्फ :–
आफ्नो जन्मथलोको सुगन्धलाई लेखहरूमार्फत बोकी हिँड्ने एक जना स्रष्टाको नाम हो भागवत खनाल । नयाँ वर्ष २०८२ साल आउनुभन्दा केही दिन अगाडि उनको दोस्रो कृति आत्म बोध बजारमा आयो । उक्त सङ्ग्रहका निबन्धलाई केलाउनुभन्दा पहिले एकै छिन आवरणकै बारेमा चर्चा गरौँ । कुशल चित्रकार राजीव घिमिरेले बनाउनु भएको आवरण चित्रले के बताउँछ त एकै छिन उहाँका कुरा सुनौँ न है ! आत्म खोज, आत्म प्रेम, आत्म स्वीकृति र आत्म यात्रालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको यो चित्रले व्यक्तिको आन्तरिक गहिराइ र अस्तित्वको विशालतालाई चित्रण गर्दछ । चित्रमा एक व्यक्ति स्वयंलाई अंकमाल गरिरहेको देखिन्छ । यो आत्म बोध र आत्म स्वीकृति एक सुकोमल भाव हो । पुस्तकको आवरणमा उभिएको व्यक्ति आफ्नै छायाँमा मोहित देखिन्छ । हजुरसँग यो आत्म बोध पुस्तक छ ? छ भने एक पटक नियालेर हेर्नोस् त ! ती पिकासो, लिओनार्दो दा भिन्चि, माइकलएन्जेलो, जस्तै अरु कति नाम कण्ठ गर्नुभएको छ हजुरहरूले अब एउटा नाम थपिहाल्नुस्,् चित्रकार राजीव घिमिरे । यस्तो अमूर्त चित्र खोप्ने राजीव साहित्यकार हुन् भन्ने त सबैलाई थाहै छ, उनी पेशाले चैँ इन्जिनियर पो रहेछन् । हाम्रो समाजका थोरै मान्छेसँग मात्र यति धेरै परिचय लुकिबसेको हुन्छ !!
अब लागौँ आत्म बोध निबन्धतर्फ । मेरो प्यारो म देखि अचेल खस्यौली अबेरसम्म सुत्छ, यी प्रत्येक निबन्धले आफ्नै माटोको सुवास बोकेका छन् । हुन त निबन्ध भन्ने बित्तिकै हजुरको दिमागमा हुरुरु कुदेर लामिछाने आउलान्, देवकोटा आउलान्, कृष्णचन्द्रसिँह प्रधान आउलान्, अब भागवत खनाल पनि आउनेछन् ।
अब एउटा जादुमयी निबन्धको रोचक प्रसङ्ग थोरै राख्न चाहेँ । जिउन बहुतै कठिन छ वत्स निबन्धमा जीवनको अस्तित्व जोगाउनका निमित्त प्रत्येक मानव सङ्घर्षको मैदानमा भागदौड गरिरहन्छन् भन्ने आशय पाइन्छ । कतिले मुकाम हात पार्छन्, कति त्यसै मुर्झाउँछन् । मनुष्यको जीवन आरोह र अवरोहको संयोग हो । सबैसँग आरोह र अवरोहका आफ्नै कथा हुन्छन् । यहाँ एउटा अनिदो रातले लेखकको मनलाई विचलित बनाउँछ । उनको मानसपटलको अँध्यारो कुनामा अलप भएर बसेका कुराहरू नूतन र ताजा भएर उपस्थित हुन्छन् । त्यो रात्रिको नि:शब्द नीरवतामा उनी सम्झन्छन् नोबेल पुरस्कार विजेता अर्नेष्ट हेमिङ्वे, सुकरात, अनि महाभारतका सशक्त पात्र भीष्म पितामहलाई । इच्छा मृत्युको वरदान पाएका भीष्मले वाणको श्यया कुरेर बाँचिरहन विवश त्यो क्षण । हामी सबैलाई थाहा छ, एक दिन मर्नैपर्छ । यो अवश्यम्भावी भएर पनि भयावह छ । जीवनको विडम्बना हेर्नोस् त, आफूले जुन कुरालाई त्यागेको छ त्यसैको रक्षा गर्ने भीष्म प्रतिज्ञा ।
अनि लगातार एकपछि अर्को वीभत्स हवाइ दुर्घटनामा बाँचेका हेमिङ्वेले सहजै आफूले आफैँलाई मारे । एउटा सिङ्गो रातले महाभारत कथासँगै कहिले हेमिङ्वे त कहिले सुकरात, कहिले युनानी सत्ता त कहिले प्लेटोलाई सम्झाउँछ, लेखकका मनमा अनेक प्रसङ्गको आँधी उठाउँछ र ऊ बाटो लाग्छ । यता लेखक भने ती रातका उकुसमुकुसलाई निबन्धमा परिणत गरिदिन्छन् । यसरी इतिहासको निर्मम बोझ बोकेर थकित भएको जीवन त्यो बोझबाट मुक्ति चाहन्छ । अनि भविष्यको हातमा बोझ सुम्पेर आफू बिदा हुन्छ । परीक्षा सकेपछि उत्तीर्ण भए पनि नभए पनि बाहिर त निस्कनु नै पर्छ ।
महाभारतका कर्ण पनि अर्जुनको वाणको प्रभावले त्यो कठिन जीवनबाट मुक्त हुँदै अनन्त अन्धकारमा विलीन भए । प्रकाशको सीमा थियो, अन्धकार असीम । प्रकाशमा उत्तेजना थियो, अन्धकार शान्त । प्रकाशमा प्रवृत्तिको तनाव थियो, अन्धकारमा निवृत्तिको सुस्ताइ । प्रकाशमा थकान थियो अन्धकारमा आराम । यसरी जीवन र मृत्युको गहिरो दार्शनिक विश्लेषण गरेका छन् लेखकले उक्त निबन्धमा ।
सराबी साँझमा सदाचार संवाद
म पात्र सहित कवि बेसरम बन्दनीय, लेखक, सम्पादक, विकलमन वैरागी यी सबै पात्र एउटा बारमा बसेका छन् । विकलमन वैरागी तीस वर्ष अनवरत मदिराको आहालमा डुबेर भर्खरै पाखा निक्लेको छ । अचेल उसले झोलामा रामायण र श्रीमद्भागवत बोकेर हिँड्छ । नारदजी र रत्नाकर डाकुका गफ गर्छ अचेल ऊ । देश रित्याउने नेतालाई धारे हात लगाउँछ । ऊ बाहेक बारमा बसेका सबै आवेग र जोसका कुरा गर्दै मद्यपान सेवनमा लिप्त छन्, होस गुमाउँदै छन् । त्यहाँ मदहोसीमा मदान्धता पोखिन्थ्यो । जति छिल्लिन सक्यो त्यति नै मजा । झोलिलो पदार्थको तात्कालिक मस्ती । त्यो जमघट, पाकेका केश, झोल्लिएका पेस र लुलिएका संवेगहरुको जम्माजालझैँ प्रतीत हुन्थ्यो ।
त्यहाँ उनीहरूको यौवनिक उन्मक्तता शब्दमा सीमित छ । देहले विश्राम लिन थालेकाहरूलाई शब्दले मजा दिइरहेको छ । उहिल्यै गरेका कुरा आज भनेर छताछुल्ल पार्दै मस्त छन् व्यतीत जवानीहरू । त्यो सराबी साँझमा नशाले शिथिल भएकाहरू प्नि नपिउनेको गफमा मस्त थिए । पिएका नपिएका सबैलाई देशको चिन्ता थियो । देश र जनतालाई हानि पुर्याएर राष्ट्रसेवक गरिरहेको ढोङ गर्ने एउटा जमातको विरुद्धमा उनीहरू बोलिरहे ।
शक्ति र पदको दुरुपयोग गरी देशप्रति घात गर्नेहरूलाई लेखकले सराबी साँझमा भएको गफगाफ भन्दै व्यङ्ग्यको झटारो हानेका छन् । यसरी समाजमा भएका विभिन्न घटनाहरू, मानिसहरूको स्वभाव, जीवनका गहिरा अर्थहरू र आफ्ना व्यक्तिगत अनुभूतिहरूलाई सरल र रोचक भाषामा प्रस्तुत गर्ने भागवतको शैलीले पाठकलाई लोभ्याउँछ । सामान्य विषयहरूलाई पनि कलात्मक र गहिरो रूपमा प्रस्तुत गर्ने लेखक भागवत खनालमा जीवन, मृत्यु, प्रेम, प्रकृति र अध्यात्मजस्ता दार्शनिक विषयहरूमा गहिरो चिन्तन रहेको पाइन्छ । मुख्यतः उनका निबन्धको विशेषता नै जीवन र मृत्युको गहिरो दार्शनिक विश्लेषण हो ।
अनेकौँ दुःशासन निबन्धको सुरुवातमा आफ्नो बाल्यकाललाई स्मरण गरेका छन् लेखकले । नौ कक्षामा पढ्ने बेलामा उनी र उनको मिल्ने साथी किताब किन्न तानसेन जान्छन् । घाम चर्किएकोले हिँड्दाहिँड्दै थकाइ मार्न उनीहरू एक छिन रुखको फेदमा आराम गर्न भनिकन बस्छन् । बसेकै बेलामा त्यहाँ भेटिएका पात्रहरू ज्याद्रो, खाल्टे, मुन्द्रे, चुल्ठे दाइ नाम गरेका फटाहाहरूले एउटा सोझो प्राणी रुखको फेदमा सुतिरहेको भीमेलाई धेरै दुःख दिन्छन् । निबन्धले बिस्तारै अनेकौँ घुम्ती र मोडहरू पार गर्दै अगाडि बढ्दै जाँदा आफ्नो देशलाई यसरी जर्जर अवस्थामा पुर्याउने भ्रष्ट नेता र बाटोमा भेटिएका अघिका डनहरू सम्झँदै उनी लेख्छन्, उनी के लेख्छन् पढ्नुहोस् ल । किन्तु कान्तिपुरका दु:शासनहरुलाई साह्रै कठिन छ ।
हस्तिनापुरको दुःशासन बरु आदेश या इशारामा मात्र हरकतमा आउँथ्यो । यी दुःशासनहरू त बढी ल्याङ्ग्वेज हेरेरै सबै कुरा बुझ्छन् । विप्लवकारी, अनियन्त्रित र दम्भी स्वभावका कतिपय दु:शासनहरुलाई आफू दुःशासन बनेको हेक्का नै छैन । उनीहरू आफ्नो ज्येष्ठ भ्राताको प्रत्येक गतिविधिको खुलेआम बचाउ र अभिनन्दन गर्नमै निमग्न छन् । वास्तवमा दुःशासन एउटा व्यक्ति मात्र होइन, प्रवृत्ति पनि हो । दुःशासन तत्कालीन हस्तिनापुरको अव्यवस्थाको प्रतिबिम्ब मात्र हो । मोहराको रूपमा उपयोग गर्न सजिलो प्रज्ञाहीन र प्रश्नहीन आज्ञापालक । तत्कालीन हस्तिनापुरमा एउटा मात्र दुःशासन थियो तर आजको कान्तिपुर त अनेकौँ दुःशासनले भरिभराउ छ । मुख्यतः तीन पार्टीका तीन जना दुर्योधनहरू रहुन्जेल देशले मुहार फेर्न मुस्किल छ ।
सङ्ग्रहका तीस वटा निबन्धमध्ये लगभग पच्चीस जति आत्मपरक निबन्ध छन् । म पनि कालीगण्डकीको सन्तान हुँ, दरबारमार्गमा अढाई घण्टा, अचेल खस्यौली अबेर सम्म सुत्छ, सीमान्त चेतना, उद्यानमा बस गई, आँपको बगैँचामा जीवन दर्शन, सानीकाफ्लीबाट जीवनलाई नियाल्दा, मेरा, अतीत र आत्म बोध, हरपल कर्म पलपल जीवन यी सबै निबन्धहरू उत्तिकै उम्दा छन् । एक साँझ, हाम्रो परिवार सबै एक ठाउँमा भएका बेला आत्म बोधबाट मैले एउटा निबन्ध सुनाएकी थिएँ । उक्त निबन्धको अलिकति अंश हजुरको लागि राख्न चाहेँ । त्यहाँ दुई जनाको संवाद भइरहेको छ, एउटाले सोध्छ– दुःख के हो ? अर्कोले उत्तर दिन्छ – दुःख ? त्यो त सुख खोज्न जाँदा चढ्ने भर्याङ हो । दुःखले मानिसलाई मन्दिरको भर्याङ चढाउँछ र भगवानसँग सुखको झोली थाप्न बाध्य बनाउँछ त्यसैले ऊ दैवसँग सुख माग्छ । चाहे यस संसारको होस् या परलोकको ।
सन्तान सुख, सुस्वास्थ्य र धनको सुख माग्छ मान्छे । भगवानकहाँ माग्न जाँदा अलिकता गम्भीर, निन्याउरो र टिठलाग्दो अभिनय गर्छ मान्छे । मानौँ, भगवान् झुक्याएर फाइदा उठाउन सकिने लाटो पात्र हो । साँच्चै, मान्छे स्वार्थी छ, ढोँगी छ तर लेखक यसरी हेर्छन् आफूलाई – मजस्तो व्यक्तिले अपनाउने कर्मप्रधान कर्मयोग नै हो । जहाँ अतिरिक्त र अनुचित आशक्तिबाट रहित कर्मको सम्पादन गर्न सकियोस् । यस सिलसिलामा उमेरको यो मुकाममा पुगेको मजस्तो व्यक्तिले धनको तृष्णा, थप सम्पदाको लोभ र लाभका लागि लेनदेन गर्ने चेष्टा गर्नु उपयुक्त हुँदैन ।
प्राण रहुन्जेल कर्मको अन्त्य त हुँदै हुँदैन परन्तु जीवनको पछिल्लो बिसौनीमा कसैबाट कुनै प्रकारको सेवाको अपेक्षा र अभिमानजस्ता कुराबाट परपरै बस्नु श्रेयष्कर छ । गीतामा कृष्ण भन्छन्, हे अर्जुन ! तिमीले कर्म नगरी सुखै छैन । कर्मले मनुष्यको अन्तस्करण शुद्ध हुन्छ । अति निद्रा, अति आलस्य र प्रमादमा समय बिताउने मानिसको जीवन अधोगतिमा जान्छ । त्यस्तो मनुष्यलाई नैतिकरुपले पनि शिर ठाडो राख्न मुस्किल पर्छ ।
जीवन र जगत्लाई हेर्ने बुझ्ने सूक्ष्म अन्तर्दृष्टि पाइन्छ उनका निबन्धमा । मध्य–पश्चिम तराइको त्यस भूभागको सेरोफेरोलाई आधार बनाएर लेखिएका उनका निबन्धमा आञ्जलिक महक प्रचुर मात्रामा पाइन्छ । भाषा सरल छ । प्रस्तुति आकर्षक छ । कति निबन्ध त कथाजस्तो पनि लाग्छन् तर तिनलाई लेखकले अन्त्यसम्ममा निबन्धको ढाँचामा पुर्याइछाड्छन्, यो पनि लेखकमा हुनुपर्ने एउटा कला हो । कतै मनका आवेगहरू, कतै समयका तीता सत्यहरू, कतै बाल्यकालका धमिला स्मृतिहरूको मिठास पाइने उनका प्रत्येक निबन्धका अभिव्यक्तिमा शब्दको शक्तिले गर्दा सबै निबन्धहरू मिष्ठान्न भोजन ग्रहण गरेझैँ सुस्वादु छन् ।
देवता, कुब्जासुन्दरी र बुढो खनिायाँको रुख शीर्षकको निबन्ध पढ्दै गर्दा मैले अचानक आफ्नो जन्मस्थान र त्यो प्रिय घरलाई सम्झिएँ । धेरै वर्षअगाडिको कुरा हो । म सानै थिएँ । त्यो बेला झापामा बिजुलीबत्ति थिएन । लेखककी हजुरआमाले बाल्नुभएको जस्तो आकाश बत्ती हाम्री आमाले पनि बाल्नुहुन्थ्यो । सेतो प्लास्टिकको बाराबेरा लगाएर बाँसका चोया खिपेर एउटा सानो चिटिक्क परेको घर बनाइदिनुहुन्थ्यो हाम्रो बाले । त्यो घरभित्र दियोमा बत्ती बाल्नुपर्ने भएकोले सुरक्षित तवरको बनिन्थ्यो त्यो आकाशबत्ति घर । एउटा सानो ढोकाबाट भित्र दियोमा बत्ती बालेर डोरीको सहायताले अग्लो बाँसको टुप्पोमा बाँधेर अड्काएको आकाशबत्ति रातभर झलल बलिरहन्थ्यो । हामी घरको बरन्डामा बसेर रात छिपिउन्जेल हेरिरहन्थ्यौँ । कार्तिक एक महिना व्रत बसेर नित्य साँझ बिहान आकाशबत्ति बाल्नुहुन्थ्यो आमा ।
माथि देखिने सानो घरभित्र बलेको त्यो उज्यालो हेर्न हाम्रामा छिमेकीहरू पनि आउँथे । कति रमाइला थिए ती दिन । अब त आकाशबत्ति बाल्ने जुग पनि हरायो । साँच्चै, साना साना कुराले पनि मानिसलाई अथाह खुसी मिल्छ । आमाको त्यो रहरलाई पूरा गर्न आँगनको कपासको बुटामा फक्रेका कपासका फूलहरू टिपेर जम्मा गरिदिन्थेँ म । आमाले त्यसबाट बत्ती कात्नु हुन्थ्यो । कार्तिक महिनाभरि पुग्ने गरी बत्ती कातेर राख्नुहुन्थ्यो । बितिगएका ती दिनलाई सम्झेर भावुक हुँदै लेखक भागवत खनाललाई सम्झिन पुगेँ । कस्तो संयोग हो यो, उनको अक्षरभित्र लुकेको मेरो अतीत । बुज्रुकहरू भन्छन्, साहित्य हृदयको भाषा हो रे, यसले जोसुकैलाई पनि हिर्काउन सक्छ रे । कुनै पनि लेखकको पहिचान लेखाइबाट थाहा हुन्छ । त्यहाँभित्र लेखकको संस्कार पनि लुकिबसेको हुन्छ, त्यो बेला–बेला साहित्यमार्फत यसरी नै प्रस्फुटित हुन्छ ।
फेरि हजुरआमाकै कुरामा फर्किएँ म । हजुरआमा र नातिको संवादले चकित पार्छ पाठकलाई । लेखककी हजुरआमा तलमाथि गर्न असमर्थ भएकी हुँदा दलानमै सुत्ने गर्नुहुँदो रहेछ । जसै एकरात सबै निदाएका बेला लाखे नाच्तै नाच्तै आँगनसम्मै आएको र आफूले प्रत्यक्ष देखेको कुरा नातिलाई सुनाउँदै भन्नुहुन्छ, ‘तिमीहरूका कारण देउता रिसाए जस्तो छ । उखुबारीको धरीमा पच्छिम फर्केर तिमीहरूले पिसाब गरेका कारण देउता रिसाए ।’ चलाख नाति उल्टै प्रश्न राख्छन् हजुरआमालाई, ‘बाउनको आँगनमा नेवारको लाखे भूत किन आयो होला ?’ त्यस्तै अर्को पनि एउटा उदेकलाग्दो प्रश्न गरेका थिए उनले हजुरआमालाई, अग्लो लिङ्गोमा कार्तिकभरि आकाश दीप बालेको देखेर सोध्छन्, ‘यो बालेर के हुन्छ ?’ हजुरआमा भन्नुहुन्छ, ‘देवता खुसी हुन्छन् ।’ डोरीले तान्दै माथिसम्म लगेर घन्टौँ बालिने बत्तीकालागि थुप्रै तेल खर्च हुन्थ्यो । उता हाम्रा लागि पाक्ने रोटीमा भने अलिअलि दल्न पनि धौ धौ थियो । तथापि कुनै गुनासो थिएन । देवताहरू हाम्रो परिवारका खास सदस्य थिए । बा भन्दा पनि ठूला ।
लेखककी हजुरआमा बिहे गरेर घर आउने समयमा नै त्यो रुखको नाम बुढो खनियाँको रुख भइसकेको रहेछ । लाखे नाच्तै नाच्तै त्यही रुखको फेदमा अलप भएको, कात्तिकमा अक्कासे बत्ती बालेको हुँदा कृष्ण भगवान् खुसी हुनुभएको, कुबिजा सुन्दरी आएर भगवानका हातमा फूल र चन्दन दिएको अनि भगवान् प्रसन्न भएर कुरूप कुबिजालाई सुन्दरी बनाइदिनुभएको यी सबै किस्साहरू हजुरआमालाई बँचाइराख्ने मिथक हुन् । देउता र मनुष्य एक अर्काका परिपूरक हुन् । मान्छे देउतासँग बाँच्तछ, त्यसै गरी देवता पनि त मान्छेसँगै बाँचिरहेको छ ।
पुस्तकमा समेटिएका निबन्धहरू नेपाली समाजको यथार्थ जीवनका धड्कनहरूलाई नजिकबाट स्पर्श गर्छन् । जनजीवनका गहिरा तहहरूमा रहेको दुःख, सङ्घर्ष, र स्नेहलाई लेखकले कलात्मक र संवेदनशील भाषा शैलीमा उजागर गरेका छन् । सत्य त हामी वरिपरि नै सुषुप्त अवस्थामा रहन्छ—लेखकको दृष्टिकोणले ती सत्यहरूलाई विचारको उज्यालोमा ल्याउने प्रयास गरेका छन्, जसले पाठकको चेतनालाई पनि झस्काइदिन्छ । उनका शब्दहरूमा भावनाको गहिराइ र दर्शनको मिठास मिसिएको छ, जुन साहित्यिक सौन्दर्यको उत्कृष्ट उदाहरण हो । यस्ता सशक्त र समयसापेक्ष निबन्ध सङ्ग्रह प्रकाशन गरेबापत लेखकलाई हार्दिक बधाई, र भविष्यमा अझ उचाइका सिर्जनाहरूको अपेक्षासहित शुभकामना व्यक्त गर्दछु ।