काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले ‘श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने बताएका छन् ।
१३६औँ अन्तरर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज मन्त्रालयले ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा उनले युवाहरूले आफ्नो योग्यता र क्षमताका आधारमा मुलुकको जुनसुकै ठाउँमा बसेर रोजगारी गर्न सक्ने बताए।
“पहुँच र भनसुनले रोजगारी पाइन्छ भन्ने भाष्य चिर्दै छौँ । अब योग्यता र क्षमता भएका नागरिकले सहजै रोजगारी पाउने अवस्था सृजना भएको छ”,उनले भने ।
मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले भचुर्अल माध्यमबाट शुभारम्भ गरेका थिए । कार्यक्रममा मे दिवसको शुभकामना आदानप्रदान गर्दै मन्त्री भण्डारीले स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवा सुविधा प्रदान गर्न अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“यो पोर्टल आजदेखि सुरुआत भएको छ । सबै स्थानीय तह र श्रमिकसँग मोबाइल एप्लिकेसनमार्फत यसको पहुँच पुग्नेछ । योसँगै स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवा सुविधा प्रदान गर्न मन्त्रालयले अभियान सञ्चालन गर्नेछ”, उनले भने ।
सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ लाई प्रभावकारी कार्यान्वयन गर्न श्रम संसार पोर्टलले श्रम बजार सूचना प्रणालीमा सहयोगी पुर्याउने मन्त्री भण्डारीले विश्वास व्यक्त गरे ।
सरकारका मुख्य सचिव एकनारायण अर्यालले आन्तरिक रोजगार प्रवर्द्धनमा यस पोर्टलको महत्त्वपूर्ण र सहयोगी भूमिका निर्वाह गर्ने बताउँदै यसलाई सफल बनाउन तीनै तहका सरकारले अपनत्व ग्रहण गर्नुपर्नेमा जोड दिए ।
अन्तरर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान ओज्कानले श्रम संसार पोर्टलमा अन्य सरोकार भएका पक्षसँगै रोजगार खोजकर्ताको विश्वास कायम राख्नुपर्ने आवश्यकता औँल्याए ।