काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतबाट जारी भएको शंकास्पद पत्र प्रकरणमा नयाँ मोड आएको छ। उक्त पत्र जारी गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई सर्वोच्च अदालतको सुरक्षा इकाइले पक्राउ गरेको छ। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको छ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाबाट जारी भएको भनिएको उक्त पत्रमा अस्वाभाविक विवरणहरू थिए। पत्रमा चौधरीलाई पक्राउ गरी कैदमा पठाउनुपर्ने उल्लेख थियो, तर सम्बन्धित मुद्दा अझै विचाराधीन रहेको र आममाफीविरुद्धको रिटमा फैसला नभइसकेको अवस्थामा यस्तो पत्र जारी हुनु कानुनी रूपमा असम्भव देखिएको छ। पत्रमा जिल्ला अदालत कैलालीलाई सम्बोधन गर्नुपर्नेमा सिधै कारागारलाई पत्राचार गरिएको, प्रहरी महानिरीक्षकलाई बोधार्थ राखिएको र रिगल ढकालको मुद्दाको नजिरलाई आधार बनाइएको जस्ता त्रुटिपूर्ण विवरणहरू फेला परेका थिए।
सर्वोच्च अदालतबाटै जारी भएको देखिए पनि यसको वैधानिकतामाथि गम्भीर प्रश्न उठेको थियो । सर्वोच्च अदालतले आन्तरिक छानबिन शुरू गरेको थियो र छानबिनकै क्रममा शाखा अधिकृत विष्टको संलग्नता पुष्टि भएको बताइएको छ। विष्टले आफूखुसी वा कसैको उक्साहटमा उक्त पत्र जारी गरेको आशंका गरिएको छ, तर उनले हस्ताक्षर गरेका हुन् वा हस्ताक्षर दुरुपयोग भएको हो भन्ने स्पष्ट भइसकेको छैन।
सर्वोच्च अदालतको सुरक्षा इकाइले विष्टलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंमा हस्तान्तरण गरेपछि प्रहरीले थप अनुसन्धान शुरू गरेको एक प्रहरी अधिकारीले बताएका छन् । यो प्रकरणले सर्वोच्च अदालतको पत्राचार प्रक्रिया र आन्तरिक प्रशासनमाथि गम्भीर प्रश्न उठाएको छ।