काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले नेपाल शिक्षक महासंघले २१ दिनदेखि जारी राखेको आन्दोलनप्रति पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गरेको छ। शिक्षक तथा कर्मचारीहरूको पेशागत हित, शैक्षिक सुधार र शिक्षाको गुणस्तर वृद्धिका माग राखी भइरहेको यो आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने युनियनले जोड दिएको छ।
युनियनले जारी गरेको प्रेस विज्ञप्तिमा कक्षा १२ को परीक्षा र अन्य शैक्षिक क्रियाकलापमा निजामती कर्मचारी परिचालन गर्ने भनी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्तो कदमले शिक्षकहरूको मागलाई उपेक्षा गर्ने र शैक्षिक क्षेत्रको समस्या समाधानमा बाधा पुग्ने युनियनको ठहर छ।
“निजामती कर्मचारीहरूलाई परिचालन नगरी विगतमा झैँ विद्यालय शिक्षक र कर्मचारीमार्फत नै कक्षा १२ को परीक्षा र सम्पूर्ण शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सरकारसँग जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।
युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षक महासंघका मागहरूको शीघ्र समाधान गरी शैक्षिक वातावरण सहज बनाउन सरकारलाई आग्रह गरिएको छ।
