काठमाडौँ । एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ ।
सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रुपमा सूचीकृत गरेको हो ।
सञ्चार मन्त्रालय, सूचना प्रविधि विभागले डाटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ मा भएको कानूनी व्यवस्था बमोजिम एनसेललाई सूचीकृत गरिएको हो ।
कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेश भएको निवेदन तथा कागजातको अध्ययनपश्चात एनसेलले सञ्चालन मापदण्ड तथा सुरक्षा अनुसरण गरेको पाइएको अधिकारीहरूले बताएका छन् ।
निर्देशिका अनुसार सञ्चालनमा रहेका डाटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो । एनसेलले सो अवधि भन्दा पहिला नै आफूलाई सूचीकृत गराएको हो । यो निर्देशिका २०८१ माघ १५ गतेको सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको निर्णयबाट स्वीकृत भएको थियो ।
डाटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकरण गराएको छ । सूचीकरणसँगै अब नयाँ कानुनी व्यवस्था अनुसार पनि डाटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्न सक्ने पहिलो र एकमात्र कम्पनी बनेको एनसेलले जनाएको छ ।