काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-१० घर भएकी २९ वर्षीया उरूषा क्षेत्री, नुवाकोट विदुर नगरपालिका-५ घर भएका हल काठमाडौँ महानगरपालिका-३२ बस्ने २७ वर्षीय केदार ढुंगाना र दाङ तुल्सीपुर उपमहानगरपालिका-६ घर भएका ४० वर्षीय पोषणराज घर्ती क्षेत्री रहेका छन् ।
पक्राउ मध्ये उरूषाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट ८ लाख रुपैयाँ, केदारले माल्दिभ्स पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८ लाख रुपैयाँ र पोषणराजले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
उनीहरू सम्पर्कविहीन भएपछि पीडितहरूको दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उरूषालाई काठमाडौँ महानगरपालिका-३१ बाट शनिबार, केदारलाई काठमाडौँ महानगरपालिका-३२ बाट शुक्रबार र पोषणराजलाई दाङ तुल्सीपुरबाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये उरूषा र केदारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौँ र पोषणराजलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको नेपाल प्रहरीले जनाएको छ ।
हाल तीनै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।