काठमाडौँ । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको जहाजभित्र खिचिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा प्रहरीले यात्रुलाई जबरजस्ती जहाजबाट झर्न आग्रह गरेको देखिन्छ भने आक्रोशित यात्रुहरूले ‘बरु मर्ने, तर नझर्ने’ अडान लिएका लिए ।
यात्रुहरूले ६-७ घण्टादेखि खाना नखाई बस्नुपरेको, जहाजमा वृद्धवृद्धा र बिरामीसमेत रहेको भन्दै कम्पनीप्रति आक्रोश व्यक्त गरेका छन्। एक यात्रुले भने, “न मौसमको जानकारी छ, न त केही। यो मजाक हो ?” अर्का यात्रुले थपे, “हामी गाईभैंसी हौँ ? बिहानदेखि भोकै छौँ, हामीलाई कुकुरजस्तो व्यवहार गरिएको छ।” भिडियो खिच्ने क्रममा प्रहरीले धम्क्याएको पनि उनीहरूको आरोप छ। “हामी झर्दैनौँ, भिडियो देखेर किन डराएको ?” एक यात्रुले प्रश्न गरे।
यात्रुहरूले बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको नामै लिएर “बरु मर्छौँ, तर जहाजबाट निस्किँदैनौ,” भन्दै आक्रोश पोखेका छन्।
बुद्ध एयरले यो घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीका अनुसार, ५ अप्रिल (२३ चैत) मा काठमाडौँबाट भरतपुरका लागि बिहान ७:२० र ८:४० मा दुई उडान तय भएको थियो। तर, मौसम खराबीले भरतपुर विमानस्थल १० बजेपछि मात्र खुलेको र पहिलो उडान ११:३८ मा भएको कम्पनीले बताएको छ। दोस्रो उडानका यात्रु जहाजमा चढाइसकेपछि काठमाडौँ विमानस्थलमा ‘नोटाम’ जारी भएको थियो।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार, थाइल्यान्ड भ्रमणबाट फर्किँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको भिभिआइपी उडानका कारण अन्य उडान करिब ४० मिनेट रोकिएका थिए। यहीबीचमा बुद्ध एयरको भरतपुर उडान प्रभावित भयो। त्यसपछि भरतपुरमा पुनः मौसम बिग्रिएर विमानस्थल बन्द भएपछि दिउँसो २ बजे उडान रद्द गरिएको कम्पनीले जनाएको छ।
लामो समय जहाजमा अलपत्र परेका यात्रुलाई मौसमको कारण देखाउँदै झर्न आग्रह गर्दा विवाद भएको हो। यात्रुहरूले खाना नपाएको, बिरामी र वृद्धवृद्धाको अवस्था बिग्रिएको गुनासो गरेका छन्। बुद्ध एयरले दिउँसो ३ बजे भरतपुर विमानस्थल खुलेपछि केही यात्रुलाई उडान नम्बर ३५७ मार्फत गन्तव्य पठाएको बताएको छ।
भरतपुर विमानस्थल भीएफआर प्रणालीमा सञ्चालित भएकाले कम भिजिबिलिटीले उडान प्रभावित भएको कम्पनीको भनाइ छ। आइतबार पनि भरतपुर दिउँसो १ बजेपछि मात्र सञ्चालनमा आयो र बुद्धले बिहानका दुई उडान रद्द गरेको छ। कम्पनीसँग ४७ सिट क्षमताका दुई एटीआर–४२ जहाज मात्र छन्, जसले भरतपुर उडान भर्दै आएका छन्।
बुद्ध एयरले ७२ सिट क्षमताको एटीआर-७२ जहाजबाट भरतपुर उडान गर्न नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको तर प्रक्रिया अघि नबढेको जनाएको छ। “अनुमति पाएपछि परीक्षण उडान गरी चाँडै एटीआर-७२ बाट सेवा सुरु हुन्छ,” कम्पनीले भनेको छ। १६ वटा एटीआर-७२ जहाज रहेको बुद्धले यस्ता समस्या समाधान हुने दाबी गरेको छ।
यात्रुलाई समयमै सूचना नदिने र उडान रद्द हुँदा सेवा-सुविधामा ध्यान नदिने वायुसेवा कम्पनीको व्यवहारले यात्रुहरू आक्रोशित बनेका छन्।