काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र सार्नका लागि सरकारले योजना बनाउनुपर्ने बताएकी छिन् ।
गौतमकै निर्वाचन क्षेत्रमा अवस्थित उक्त केन्द्रमा गत १५ गते राजावादीहरूको प्रदर्शनपछि उग्र बनेको समूहले आगजनी गरेको थियो ।
आगजनीपछि ध्वस्त भएको उक्त केन्द्रको बिहीबार अवलोकनपछि उनले उपयुक्त स्थान हेरेर सरकारले केन्द्र सार्नुपर्ने बताएकी हुन् ।
जडीबुटीमा रहेको उक्त केन्द्र रहेको स्थान सांसद गौतमको निर्वाचन क्षेत्र समेत हो ।
निर्वाचन क्षेत्रका युवाहरूले गौतमलाई केन्द्रको अवलोकन र छिटो सञ्चालनमा ल्याउनका लागि पहल गर्न आग्रह गरेका थिए ।
सोही अनुसार सांसद गौतमले बिहीबार वन मन्त्री ऐनबहादुर शाहीलाई समेत लगेर केन्द्रको अवलोकन गराएकी छिन् ।
अवलोकनको क्रममा सांसद गौतमले आगलागीबाट २८ करोडको क्षति देखिएको भन्दै आगो लगाउनेलाई कानुनी दायरामा आउनुपर्ने र सरकारले ल्याउनुपर्ने बताइन् ।
प्रशोधन केन्द्रकी महाप्रबन्धक संगीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएको भग्नावशेषको अवलोकन गराउँदै क्षतिबारे जानकारी गराएका थिए ।
निरीक्षणपछि वन मन्त्री ठकुरीले छिटोभन्दा छिटो सञ्चालनमा लागि गृहकार्य भइरहेको बताए ।
प्रशोधन केन्द्रकी महाप्रबन्धक यादवले नयाँ उत्पादनको तयारी गरिरहेका बेला आगो लाग्दा ठूलो क्षति भएको बताइन् । उनका अनुसार उद्योगको दुइटा भवन र १३ वटा गाडी जलेर क्षति भएको छ ।
प्रशोधन केन्द्रका भग्नावशेष बनेको छ । गाडीहरू जलेका छन् । करोडौँको क्षति भएको छ ।