काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि हातपात गर्नेलाई कानुन अनुसार कारवाही गर्न नेपाल विद्युत् प्राधिकरण कल्याण परिषद् र नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले माग गरेका छन् ।
दुवै संगठनले बुधबार संयुक्त विज्ञप्ति जारी गरेर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गर्ने जो केही भए पनि पक्राउ गरी कानुन अनुसार कारवाही गर्न माग गरेका हुन् ।
घटनाको वास्तविकता एवं सत्यतथ्य नबुझी हठात रूपमा सो विषयलाई सामाजिक सञ्जालमा पोष्ट गरी कार्यालयको वातावरण प्रतिकूल बनाउने कार्य गर्ने सोही वितरण केन्द्रका कर्मचारीमाथि विभागीय कारवाही गर्न समेत उनीहरूले माग गरेका छन् ।
विद्युत् जस्तो जनताको अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा अहोरात्रा खटिने कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति हुनुपर्ने, डिजिटल सूचना ह्याक गर्ने व्यक्ति पत्ता लगाइ कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् ।
मंगलबार नेकपा एमाले निकट युवा संघका कार्यकर्ताले केन्द्रका कार्यालय प्रमुखमाथि हातपात गर्नुका साथै उनको कार्यकक्षमा तोडफोड गरेका थिए ।