काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल मनि विक २०२५’ को अवसरमा देशव्यापी रूपमा विद्यार्थी तथा युवामुखी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। सातै प्रदेशमा सञ्चालन गरिएका सप्ताहव्यापी कार्यक्रमहरूमा ६ हजारभन्दा बढी विद्यार्थी तथा युवायुवती सहभागी भएका छन्।
बैंकले ग्लोबल मनि विकको अवसर पारेर नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरूको सहकार्यमा वित्तीय सचेतना अभिवृद्धि कार्यक्रमहरूमा पनि सक्रिय सहभागिता जनाएको छ। बैंकका कर्मचारीहरू वित्तीय सचेतना अभियानअन्तर्गत विभिन्न कार्यक्रमहरूमा ‘वित्तीय साक्षरता अभिवृद्धि’ व्यानरसहित उपस्थित भएका थिए।
ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ। कार्यक्रमअन्तर्गत बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, वित्तीय ठगी तथा अनुशासनलगायतका विषयमा जानकारी प्रदान गरिएको छ।
ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्स’ को ‘बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४’ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भइसकेको छ। साथै, बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट समेत विभिन्न विधामा पुरस्कृत हुँदै आएको छ।
देशभरि ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, ३ वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवामात्रै नभई विश्वका विभिन्न मुलुकहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गरिरहेको छ। संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स भित्र्याउने कार्य बैंकमार्फत सहज रूपमा भइरहेको छ।