काठमाडौँ । पूर्व प्रशासक एवं साहित्यकार भागवत खनालको निबन्ध कृति ‘आत्मबोध’ एक समारोहबीच लोकार्पित भएको छ।
बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा कवि तथा पूर्व मुख्यसचिव डा. विमल कोइराला र राजेन्द्र गोपाल सिंहले पुस्तक सार्वजनिक गरे। भागवतको यो दोस्रो कृति हो। डेढ वर्षअघि प्रकाशित उनका कथासङ्ग्रह ‘बाबा, मेरो पिआर आयो’ पाठकमाझ लोकप्रिय भएको थियो।
‘आत्मबोध’ मा ३० वटा निबन्ध समेटिएका छन्। पुस्तक लोकार्पण गर्दै सभापति सिंह र प्रमुख अतिथि डा. कोइरालाले खनालको लेखकीय दृष्टिकोणको चर्चा गरे। पूर्व सचिव कृष्ण ज्ञवालीले खनालका कथा र निबन्ध सामाजिक तथा यथार्थपरक रहेको टिप्पणी गरे।
कार्यक्रममा पूर्णचन्द्र भट्टराई, केशवकुमार शर्मा, कृष्णमुरारी भण्डारी, राजीव घिमिरे, मुकुन्दराज शर्मा, भागीरथी ज्ञवाली, सिन्धिया श्रेष्ठ र प्रकाशक दुर्गाप्रसाद खनालले मन्तव्य व्यक्त गरे। कार्यक्रमको सञ्चालन केशवबहादुर थापाले गरेका थिए।
लोकार्पण कार्यक्रम खस्यौली समाज, काठमाडौँद्वारा आयोजित थियो। वक्ताहरूले खनालले सामाजिक विषयवस्तुमाथि गहिरो अध्ययनसहित चोटिलो लेखन गर्दै आएको धारणा राखे।
सम्बन्धित समाचार : भागवत खनालको ‘बाबा मेरो पीआर आयो’ लोकार्पण