जाजरकोट । बारेकोट गाउँपालिकामा कार्यरत सब-इन्जिनियर हिमाल पुनमाथि रड प्रहार भएको छ । उनलाई बारेकोट-६ कार्कीज्यूलास्थित सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीले रड तथा ढुंगा प्रहार गरेका हुन् ।
आइतबार सब-इन्जिनियर पुन विद्यालयको दिवा खाजा भवनको अनुगमन तथा निरीक्षण गर्न पुगेका थिए । सो क्रममा भवनको गुणस्तरको विषयलाई लिएर व्यवस्थापन समितिका अध्यक्ष नेपालीसँग विवाद भएको गाउँपालिकाका प्रवक्ता वीर बहादुर घर्तीले जानकारी दिएका छन् ।
सामान्य भनाभनपछि नेपालीले अचानक रड र ढुंगा प्रहार गरी पुनलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरीराम डाँगीले जानकारी दिए ।
उनको पाखुरा र हिपमा चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको प्रहरीले जनाएको छ । घटनापछि नेपाली फरार रहेका छन् । उनको खोजी भइरहेको छ ।