काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समग्र विकासका लागि महिला र पुरुषको समान सहभागिता अनिवार्य रहेको बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा आयोजित ‘महिला नेतृत्व सम्मेलन-२०२५’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिलाहरूलाई परिवर्तनशील र गतिशील शक्तिका रूपमा चित्रण गर्दै समान सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले भने, “रथको एउटा पाङ्ग्रो मात्रै चलेर गाडी गुड्न सक्दैन। त्यसैले महिला र पुरुषको समान सहभागिताबाट समृद्धि सम्भव छ। सामाजिक न्याय र समानता स्थापना गर्दै गरिबी हटाउने सवालमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ।”
उनले राष्ट्रपति, प्रधान न्यायाधीशजस्ता उच्च पदमा महिलाको उपस्थिति सकारात्मक भएको बताउँदै, शिक्षादेखि रोजगारीसम्म महिलाको अगुवाइ सुनिश्चित गर्नुपर्नेमा जोड दिए साथै, लोकतन्त्रलाई राजमार्गको संज्ञा दिँदै, विकासको यात्रामा ‘ब्याक गेयर’ लगाएर पछाडि फर्कन नहुने धारणा राखे।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार निजी क्षेत्रको सहकार्यमा औद्योगीकरण प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताउनुभयो। साथै, सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग बढाउने नीति कार्यान्वयन भइरहेको जानकारी गराए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र अभियन्ता रुक्साना कपालीलाई विशेष सम्मान प्रदान गरेका थिए।