काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले हराएको छ।
बागमतीले तेस्रो खेलमा आएर जितको स्वाद चाखेको हो। सुदूरको भने यो तेस्रो हार हो। भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस जितेको बागमतीले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६६ रन बनाएको थियो।
बागमतीले दिएको २६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४७ ओभरमा अलआउट हुँदै २११ रन बनायो। सुदूरपश्चिमका लागि ओपनर ब्याटर टेक रावतले सर्वाधिक ४५ रन बनाए। उनले ८८ बलमा ३ चौका प्रहार गरे।
निश्चल क्षेत्रीले १४, किरण ठगुन्नाले २१, राहुल भण्डारीले २६ रन बनाउँदा कप्तान नारायण जोशीले ३९ रन बनाउँदै रिजन ढकालको बलमा बोल्ड भए। शेर मल्लले १४ रनमा अविजित रहे। बागमतीका लागि रिजन ढकाल र सोनु देवकोटाले समान ४-४ विकेट लिए। प्रतिश जिशीले १ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको बागमतीका लागि ओपनर आशुतोष घिरैया र तेस्रो क्रमका ब्याटर शुभ कन्साकरले अर्धशतकीय पारीले खेलेका हुन्। बागमतीका लागि शुभ कन्साकरले सर्वाधिक ७७ रन बनाए। उनले ६८ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।
ओपनर आशुतोष घिरैयाले १०१ बलमा ५ चौकासहित ५८ रन बनाए। इशान पाण्डेले ३६ रन, कप्तान पृथु बास्कोटाले १५ रन बनाउँदा विवेक मगरले १० र प्रतिश जिशीले १५ रन बनाए। सुमन सुनार १२ र सूर्य तामाङ २ रनमा अविजित रहे। सुदूरपश्चिमका लागि हेमन्त धामी, शेर मल्ल र सौर्य श्रेष्ठले समान २-२ विकेट लिए। नारायण जोशी र राहुल भण्डारी १-१ विकेट लिए।