काठमाडौँ । यति एअरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परीक्षण उडान गरेको छ । शनिबार यती एअरलाइन्सको ९ एन-एएमएन एटीआर ७२ विमानले कर्णाली प्रदेशको सुर्खेत विमानस्थल र सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरेको हो ।
नेपालगन्ज विमानस्थलबाट उडेको यतीको विमान दिउँसो सवा १२ बजे सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो । परीक्षण उडानमा रहेको विमानलाई यती एअरलाईन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले जहाज उडाएका थिए ।
परीक्षण उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरूको टोली साथमा रहेका थिए । यती एअरलाइन्सले निकट भविष्यमा काठमाडौँ सुर्खेत नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रुपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको जनाएको छ ।
यती एअरलाइन्सले ७ वटा एटीआर ७२ विमानमार्फत नियमित रुपमा काठमाडौँ, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थल लगायत पर्वतीय उडानहरू गर्दै आएको छ । निकट भविष्यमा थप विमानमार्फत सेवा विस्तार गर्न लागेको एयरलाइन्सले जानकारी दिएको छ ।