हामीले खोजेको प्रहरी उसलाई देखेर नागरिक डराउनु पर्ने होइन, बरु नागरिकलाई सबै डरबाट मुक्त रहने ढुक्कको अवस्था बनाउने हो । के प्रहरी अहिले यस्तै छ ? छैन भने यसलाई कसरी सुधार्ने ?
तपाईँ हाम्रो मन-मस्तिष्कमा प्रहरी भन्नासाथ के कुरा आउँछ होला ? पक्कै पनि हाम्रो घर, कार्यालय, टोल, शहर र देशमा हामी ढुक्क भएर बस्न र काम गर्न सक्ने सुरक्षित वातावरण बनाउन अहोरात्र खटिने बर्दीधारी मानिसको समूह । अझ बृहत् रूपमा भन्नुपर्दा कानुनी शासन लागू गर्न लागिपर्ने रक्षक, अरूका लागिसमेत उदाहरण बन्ने अनुशासनको प्रतीक र सुरक्षाको भरोसा– प्रहरीबारे आम धारणा यस्तै हुन्छ । त्यसैले त प्रहरीलाई समाजमा न्यायको पर्याय पनि मानिन्छ ।
पछिल्लो समय हाम्रो प्रहरी अर्थात् नेपाल प्रहरी पेशागत मूल्य, नैतिकता र व्यावसायिक हुनुपर्ने बाटोबाट क्रमशः विचलित हुँदै गएको हो कि भन्ने आभाष हुन थालेको छ । सडकमा हेर्ने नागरिकले यस्तो अनुभव गर्न थालेका छन् । यसले कालान्तरमा नागरिकको प्रहरीप्रति रहेको विश्वासमा गहिरो असर पुर्याउने र प्रहरी संगठनकै उज्यालो छवि क्रमशः धुमिल बन्दै जाने अवस्था सिर्जना हुनसक्ने जोखिम बढाएको छ । यहाँ हामी त्यसबारे बुँदागत रूपमा चर्चा गर्नेछौँ ।
प्रहरीको भूमिका र महत्त्व
प्रहरीको मूल जिम्मेवारी कानुनको कार्यान्वयन गर्ने, शान्ति सुव्यवस्थाको सुनिश्चितता दिने र अपराध वा अन्यायबाट पीडित नागरिकलाई न्याय दिलाउन अपराध गर्नेहरूलाई कानुनी कठघरामा ल्याउने हो । यस कारण प्रहरी संगठन नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति गर्ने संस्थाका रूपमा रहनुपर्छ । तर पछिल्ला घटनाक्रमहरू हेर्दा प्रहरी अधिकारीहरू आफ्नो कर्तव्यप्रति उदासीन, अझ भनौँ बेपरवाह झैँ देखिन थालेका छन् । कतिपय प्रहरी अधिकारीहरू गैर जिम्मेवार र अनैतिक क्रियाकलापमा समेत संलग्न रहेको पाइन्छ । यसले गर्दा प्रहरीप्रति नागरिकको विश्वास क्रमशः टुट्न थालेको छ । प्रहरीलाई निष्पक्ष, सक्षम र विश्वसनीय बनाउन यो संगठनभित्र कडाइका साथ सुधारका उपायहरू अपनाउनु अपरिहार्य देखिएको छ ।
व्यावसायिकता अभाव
प्रहरी संगठन सरकारको एउटा इकाई भए पनि व्यावसायिकता यसको मूल मन्त्र हुन्छ । प्रहरी संगठन पेशागत मूल्य, दक्षता र निष्पक्षताको आधारमा अघि बढ्नुपर्ने हुन्छ । तर प्रहरी सेवामा आवश्यक प्रशिक्षण, प्रविधिसँगको समायोजन र अनुशासनको कमीले व्यावसायिकता अर्थात् प्रफेसनालिजम् झन् पछि झन् कमजोर हुँदै गएको देखिन्छ । प्रहरीले गर्नुपर्ने अपराध अनुसन्धानको प्रक्रिया, सेवा प्रवाह र आचारसंहिताको पालना गर्न नसक्दा प्रहरी संगठनको विश्वसनीयता खस्कँदै गएको छ । जटिल प्रकृतिका अपराधको अनुसन्धान, साइबर अपराध जस्ता चुनौतीपूर्ण अपराध अनुसन्धान कार्यको व्यवस्थापन तथा जनसुरक्षाका क्षेत्रमा प्रहरीको भूमिकालाई प्रविधिसँग अपडेट गर्नु आवश्यक छ ।
नैतिक मूल्यमा कमी
अघि नै उल्लेख गरियो, प्रहरी संगठनको मूल मन्त्र व्यावसायिकता हुनुपर्छ । व्यावसायिकताले संगठनमा उच्च नैतिकता र अनुशासन पनि माग गर्छ । किनभने इमानदार प्रहरी सेवाबिना सुशासन सम्भव छैन । तर पछिल्लो समय घुसखोरी, सत्ता वा सत्ताधारी नेतासँगको निकटता र नातावादले प्रहरी सेवामा नैतिकता खण्डित हुँदै गएको देखिन्छ । जब प्रहरी स्वार्थ सिद्धिका लागि प्रयोग हुन्छ, तब फौजदारी न्याय प्रणाली नै कमजोर बन्छ र यसले नागरिकमा व्यापक असन्तुष्टि जन्माउँछ । प्रहरी अधिकारीहरूको आचरण, व्यवहार र कार्यशैली पारदर्शी, उत्तरदायी र निष्पक्ष हुन जरुरी छ ।
नागरिकलाई गर्ने व्यवहार
प्रविधिमा अभ्यस्त नभइसकेकाले नेपाल प्रहरीको ठूलो संख्या प्रायः फिल्डमा हुन्छ । फिल्डमा खटिँदा सर्वसाधारण र आम नागरिकसँग गर्ने व्यवहारमा प्रहरीले उल्लेखनीय सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ । पछिल्लो समय बोलीमा केही सभ्य र भद्र देखिए पनि प्रहरीको व्यवहार भने सोहीअनुरूप हुन सकेको छैन । कतिपय अवस्थामा प्रहरी कर्मचारीको जागिरे जीवन तथा संगठनभित्रको तनाव नागरिकसँगको व्यवहारमा पोखिने गरेको पनि देखिन्छ । यसले नागरिक र प्रहरीबिचको दूरी बढाउने काम गर्छ । नागरिकलाई सेवाग्राहीको रूपमा सम्मानजनक व्यवहार गर्नुपर्ने कुरामा प्रहरी संगठनले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
आचरणमा देखिएका गम्भीर विचलन
प्रहरी संगठनका लागि व्यावसायिकताको कमी मात्र होइन, आचरणगत विकृतिहरू पनि उत्तिकै चुनौती बनेका छन् । नागरिकसँग मर्यादित, शालीन र न्यायोचित व्यवहार गर्नु प्रहरी सेवाबाट गरिने आधारभूत अपेक्षा हो । तर केही घटनाहरूले प्रहरी संगठनभित्रको नैतिक संकटलाई उजागर गर्छन् ।
घटना एक: काठमाडौँमा एक युवती ट्राफिक प्रहरीको चेकजाँचमा पर्छिन् । उनले सवारी चालक अनुमतिपत्र नबोकेको बताएपछि प्रहरी अधिकारीले उनको फोन नम्बर माग्छन् । जब उनले सोध्छिन्– किन नम्बर चाहियो ?, उनीहरू ‘सम्पर्कका लागि’ भन्छन् । तर साँझपख ती प्रहरी अधिकारीले ह्वाट्सएपमा अनावश्यक, अशोभनीय सन्देश पठाउन थाल्छन् । युवती वाक्क भएर नम्बर ब्लक गर्न बाध्य हुन्छिन् । र, त्यो बाटो नै नहिँडी अर्कै बाटो प्रयोग गर्न थाल्छिन् ।
घटना दुई: एक महिला सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षामा सहभागी हुन्छिन् । परीक्षा सकेर उत्तर पुस्तिका बुझाउँदै गर्दा एक प्रहरी अधिकारी चिटमा आफ्नो नम्बर लेखेर दिन्छन् र ‘कल गर्नू’ भन्छन् ।
यी घटना हेर्दा सामान्य लाग्छन्, तर प्रहरी कर्मचारीको आचरणका हिसाबले गम्भीर विचलनका प्रतिनिधि उदाहरण हुन् । प्रहरी भन्ने बित्तिकै डराउने कतिपय नागरिक यस्ता गैरआचरणयुक्त व्यवहारबाट पीडित बन्नुपरेको छ । प्रहरी संगठनले यस्तो प्रवृत्तिलाई गम्भीर रूपमा लिएर ठोस सुधारका कदम चाल्न जरुरी छ ।
भर्ना, छनोट र तालिम
प्रहरी सेवामा प्रवेश गर्न लिइने छनोट परीक्षामा शारीरिक ‘फिटनेस’ जाँच गर्नु पहिलो सर्त होला, तर समाजप्रतिको दृष्टिकोण, नैतिकता र आचरण त्यो भन्दा बढी महत्त्वपूर्ण हुन्छ । किनभने प्रहरी सेवामा अनैतिक व्यक्तिहरूको प्रवेश भयो भने त्यसले यो सेवाको गरिमा नै धुलिसात् पार्छ । सेवा प्रवेशपछि पनि नैतिकता र व्यावसायिक आचरणका विषयमा निरन्तर अध्ययन तथा तालिम अनिवार्य गर्नुपर्छ । प्रहरी अधिकारीहरूलाई समय-समयमा मनोवैज्ञानिक परामर्श, नैतिकता प्रशिक्षण र सेवाभाव अभिवृद्धिका कार्यक्रमहरू उपलब्ध गराउनु जरुरी छ ।
राजनीतिक हस्तक्षेप
नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपको प्रभाव दिनहुँ बढिरहेको छ । प्रहरीको नियुक्ति, बढुवा र सरुवामा राजनीतिक स्वार्थ प्रभावशाली बन्नु कानुनी शासनका लागिसमेत निकै हानिकारक छ । जब प्रहरी स्वतन्त्र रूपमा काम गर्न सक्दैन, तब कानुनको कार्यान्वयन पक्षपाती बन्न पुग्छ । यसले प्रहरी संगठनको निष्पक्षतामा गम्भीर क्षति पुर्याउँछ ।
सरुवा-बढुवाको मापदण्ड स्पष्ट नहुँदा प्रहरी अधिकारीहरू नेताहरूको कृपाका लागि दौडिन बाध्य हुन्छन् । कार्यक्षमताका आधारमा नभई राजनीतिक पहुँचका कारण नियुक्त वा पदोन्नति भएका कर्मचारीले निष्पक्ष कानुनी शासन स्थापना गर्ने कुरामा आशंका उत्पन्न हुन्छ । एक रातको लागि एआईजी पदोन्नति वा आलोपालो सेटिङमा पदोन्नति गर्दा प्रहरी सेवाको प्रभावकारिता कमजोर हुन्छ । यसरी गरिएको राजनीतिक हस्तक्षेपले संगठनको विश्वसनीयता गुम्न जान्छ ।
सुधारका लागि के गर्ने ?
प्रहरी संगठनलाई पेशागत, स्वायत्त र जनउत्तरदायी बनाउनका लागि विभिन्न सुधार आवश्यक छ । त्यसमध्ये केहीबारे हामी निम्नानुसार चर्चा गर्न सक्छौँ;
प्रशिक्षण र प्रविधिको प्रयोग
प्रहरी सेवामा अत्याधुनिक प्रविधि, साइबर सुरक्षासम्बन्धी तालिम तथा अनुसन्धान क्षमता र दक्षता बढाउँदै लैजानुपर्छ ।
ड्युटीको भार धेरै नै भएकाले ड्युटीको समय घटाउन प्रविधिद्वारा व्यक्तिलाई प्रतिस्थापन गर्न जरुरी छ । प्रहरी संगठनमा कार्यसम्पादनको प्रभावकारिता बढाउन प्रविधिको प्रयोग अनिवार्य भइसकेको छ । हाल प्रहरी कर्मचारीहरू लामो समयसम्म ड्युटीमा रहनुपर्छ, जसले गर्दा उनीहरूको शारीरिक तथा मानसिक थकान बढाउँदै लापरबाही र गैरजिम्मेवारीपनको अवस्था सिर्जना गर्न सक्छ । यदि प्रविधिको सही उपयोग गरियो भने प्रहरीको कार्यसम्पादन चुस्त, विश्वसनीय र निष्पक्ष बन्न सक्छ । जस्तो;
स्मार्ट सर्भिलेन्स प्रणाली: महत्त्वपूर्ण स्थानहरूमा सीसीटीभी क्यामराको निगरानी, ड्रोन तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्दा जनशक्तिमाथिको निर्भरता घटाउन सकिन्छ । प्रविधियुक्त गस्ती प्रणालीले रातभरि प्रहरी फिल्डमै बस्नुपर्ने अवस्थालाई प्रतिस्थापन गर्न सक्छ ।
डिजिटल रिपोर्टिङ र एफआईआर प्रणाली: नागरिकले प्रहरी चौकीमा नगई अनलाइन माध्यमबाट उजुरी तथा रिपोर्ट दर्ता गर्न सक्ने प्रणाली लागू गर्दा प्रहरीको कार्यभार कम हुन सक्छ ।
बायोमेट्रिक तथा स्वचालित उपस्थिति प्रणाली: ड्युटीको समयमा प्रहरीको उपस्थितिलाई प्रविधिबाट निगरानी गर्न सकिन्छ, जसले अनावश्यक ओभर टाइमको समस्या हटाउन सहयोग गर्छ ।
कृत्रिम बौद्धिकता (एआई) मा आधारित अनुसन्धान: अपराध अनुसन्धानका लागि एआईको प्रयोग गर्दा अनुसन्धानको गति तीव्र हुनेछ, जसले प्रहरीलाई आवश्यकताअनुसार ड्युटीमा समायोजन गर्न सहज बनाउँछ ।
प्रविधिद्वारा प्रहरी सेवाको आधुनिकीकरण गर्दा संगठनभित्र अनुशासन, कार्यक्षमता र पारदर्शिता कायम गर्न सकिन्छ । प्रहरीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन तथा जनतासँगको विश्वास पुनः स्थापित गर्न प्रविधिमैत्री सुधार आवश्यक छ ।
नैतिक मूल्य अभिवृद्धि
प्रहरी संगठनभित्र घुसखोरी र नातावादलाई रोक्नका लागि कडा निगरानी तथा कारबाहीको नीति अपनाउनुपर्छ । इमानदार प्रहरी सेवाका लागि कडा अनुशासन नीति अवलम्बन गरिनुपर्छ । अनैतिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीलाई कठोर कारबाहीको व्यवस्था गर्नुपर्छ ।
राजनीतिक हस्तक्षेपको अन्त्य
प्रहरी नियुक्ति, बढुवा तथा सरुवा प्रक्रियालाई पूर्णतः निष्पक्ष र पारदर्शी बनाउन स्वतन्त्र निकायबाट अनुगमन गरिनुपर्छ । राजनीतिक तथा शक्तिकेन्द्रको संरक्षणमा कसैलाई लाखा कसैलाई पाखा गर्दा नेतृत्वको विश्वसनीयता कायम रहँदैन ।
प्रहरीलाई पूर्णरुपमा अनियन्त्रित छाड्ने भनेको होइन, आवश्यकता अनुसार राजनीतिक तथा मन्त्रालयको रेखदेख, नियन्त्रण र सुपरीवेक्षण चाहिन्छ, तर स्वविवेकीय अधिकार र कानुनले दिएको जिम्मेवारीमा स्वायत्तता दिनैपर्छ । होइन भने अनुशासन र परिचालनमा झन् समस्या बढ्दै जानेछ ।
सार्वजनिक सेवा सुधार
प्रहरीले नागरिकलाई सेवकका रूपमा व्यवहार गर्नुपर्छ र नागरिकसँगको व्यवहार सुधारका लागि विशेष तालिम आवश्यक छ ।
निष्पक्ष अनुसन्धान प्रक्रिया
अपराध अनुसन्धान प्रक्रियामा कुनै पनि प्रकारको दबाब, पूर्वाग्रह वा प्रभावरहित हुनुपर्छ । अनुसन्धानमा स्वतन्त्रता कायम राख्दै निष्पक्षताको प्रत्याभूति गर्नुपर्छ ।
जनगुनासो व्यवस्थापन प्रणाली
नागरिकको गुनासो सहजै सुन्ने, समाधान गर्ने तथा निगरानी राख्ने प्रभावकारी संयन्त्र विकास गर्नुपर्छ ।
प्रहरी संगठनले आफूलाई सुधार्ने यस्ता उपायहरू अवलम्बन गर्न सक्यो भने मात्र कानुनी शासन, नागरिक सुरक्षा र न्यायको प्रत्याभूति गर्न सकिनेछ । किनभने प्रहरी संगठनको सशक्तीकरण बिना सुशासन र न्यायिक प्रणालीको मजबुती सम्भव छैन ।