काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्त्व हाम्रो कला, साहित्य र संगीत भएको बताएका छन् ।
नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोह-२०८० लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कला, साहित्य र संगीत समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने स्पष्ट पारे । उनले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताएका छन् ।
राष्ट्रपति भण्डारीले भने, ‘‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’’
राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको उल्लेख गरे।
मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीत संगीतका क्षेत्रमा लाग्ने स्रष्टालाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने राष्ट्रपति पौडेलको भनाइ थियो । उनले भने, ‘यो सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो।त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसंगीतको विकासका लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।’
राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसंगीतको सिर्जनामा नातिकाजीले पुर्याएको योगदान अनुकरणीय रहेको बताए।
उनले भने, ‘‘नातिकाजीका सिर्जनामा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीत संगीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ । विशेषतः उनका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली संगीतको गौरवलाई बढाएको छ ।’’
सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार, नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार वितरण गरेका छन् ।