काठमाडौँ । नेपाल पर्यटन बोर्डले ‘फोटो नेपाल प्रदर्शनी’ शृङ्खला पुनः सुरु गर्ने भएको छ । सन् २०१६ मा यस्तो शृङ्खला सुरु गरिएको थियो ।
जसमा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदालाई फोटोग्राफी मार्फत उजागर गर्ने गरिन्छ । यो शृङ्खला विशेष बनाउँदै नवीन बरालका ‘कर्णाली नदी’ नामक तस्बिर प्रदर्शनीमा राखिने भएको छ । १ र २ फागुनमा यस्ता तस्बिर पर्यटन बोर्डमा अवलोकन गर्न सकिने छ ।
प्रदर्शनमा राखिने तस्बिर ४५ दिनमा तय गरिएको १ हजार ८० किलोमिटर लामो साहसिक यात्रामार्फत कर्णाली नदीको अद्भुत सौन्दर्यलाई कैद गरिएको बोर्डले जनाएको छ ।
चीनको तिब्बती पठारबाट सुरु भएर नेपालको मनोरम भूभाग हुँदै प्रवेश गर्ने यस नदीको यात्रा प्राकृतिक, सांस्कृतिक तथा पर्यावरणीय महत्त्वका दृष्टिले महत्त्वपूर्ण रहेको समेत बोर्डले उल्लेख गरेको छ ।