काठमाडौँ । सरकारले अर्थ सचिव परिवर्तन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा. रामप्रसाद घिमिरेलाई सरुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।
अर्थ मन्त्रालयको नेतृत्वमा फेरबदल गर्दै सरकारले उपाध्यायलाई नयाँ जिम्मेवारी दिएको हो । यसअघि अख्तियारमा सचिवको रूपमा कार्यरत उपाध्यायलाई अब देशको आर्थिक नीति, बजेट व्यवस्थापन, राजस्व नीतिहरू लगायतका विषयमा नेतृत्व दिनुपर्ने जिम्मेवारी आएको छ।
अर्थ सचिव रहेका डा. घिमिरेको कार्यक्षमताको विषयलाई लिएर यसअघि नै पटक पटक सरुवा गर्ने चर्चा शुरु भएपनि सरुवा निर्णय रोकिँदै आएको थियो ।
सम्भवतः अर्थ सचिव घिमिरेलाई राष्ट्रपति कार्यालयतिर पठाएर त्यहाँका राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा मिलाउने कुरा भएको ती मन्त्रीको भनाई छ ।
उपाध्यायलाई आर्थिक प्रशासनमा राम्रो अनुभव छ। उनले कर्णाली प्रदेशको अर्थ सचिव भएर एक वर्ष काम गरिसकेका छन्। त्यस्तै, बागमती प्रदेशको प्रमुख सचिवका रूपमा पनि एक वर्ष बिताएका थिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिवको रूपमा चार महिना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात महिना सचिवको रूपमा कार्य गरिसकेका छन्।
ललितपुर र काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका उपाध्याय सरल स्वभावका तथा कामकाजी प्रशासकका रूपमा चिनिन्छन्।
सरकारले अर्थ मन्त्रालयमा नेतृत्व परिवर्तन गर्दै गर्दा हाल अर्थतन्त्रमा देखिएका चुनौतीहरूको समाधानका लागि नयाँ सचिव उपाध्यायको कस्तो नीति र योजना रहनेछ भन्ने चासो बढेको छ।