काठमाडौँ। प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सात वटै प्रदेशको बजेट खर्च १६ प्रतिशत मात्रै भएको हो ।
आर्थिक वर्ष २०८१/८२ का लागि सातै प्रदेशको बजेट दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाख रुपैयाँ रहेको थियो । जसमध्ये चालू आवको ६ महिनामा यी प्रदेशहरूले ४५ अर्ब ९ करोड ३८ लाख रुपैयाँ मात्रै खर्च गरेका हुन् । जुन खर्च कुल विनियोजनको १६.१८ प्रतिशत मात्रै हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सबैभन्दा बढी बजेट खर्च गर्नेमा कोशी प्रदेश रहेको छ । चालू आवको पुस मसान्तसम्ममा कोशीले २४.८५ प्रतिशत बजेट खर्च गरेको छ ।
कोशीले चालू आवका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा ८ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
मधेश प्रदेश भने बजेट खर्च गर्नमा कमजोर देखिएको छ । मधेशले ४३ अर्ब ८९ करोड २२ लाख रुपैयाँको बजेट ल्याएकोमा पुस मसान्तसम्ममा दुई अर्ब ४६ करोड दुई लाखमात्रै खर्च गरेको छ । यो विनियोजनको ५.६१ प्रतिशत मात्रै हो ।
सबैभन्दा बढी बजेट ल्याएको बाग्मती प्रदेशको बजेट खर्च पनि निराशाजनक देखिएको छ । बाग्मतीले चालू आवको लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँ बजेट ल्याएकोमा १० अर्ब ५० करोड २९ लाख रुपैयाँ बराबर मात्रै खर्च गरेको छ ।
गण्डकी र लुम्बिनी प्रदेशले १९/१९ प्रतिशत बजेट खर्च गर्दा कर्णालीले १५.१४ प्रतिशत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा सुदूरपश्चिमले पनि १४.८२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।
