काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सचिव र मन्त्रीलाई जागिर खान र झण्डा हल्लाउने मात्रै नभई प्रभावकारी काम गर्न निर्देशन दिएका छन् । आज आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अनुभूति गर्ने गरी काम गर्न आग्रह गरेका हुन् ।
‘तपाईँहरू अधिकांश मन्त्रालयका सचिव कोशी प्रदेश कै हुनुहुन्छ, प्रदेशको विकास गर्न लाग्नु भयो भने तपाईँहरूकै इज्जत हुन्छ । त्यसैले जागिर खान मात्रै नलाग्नुहोस् काम गर्नुहोस् ।’
सचिवहरूलाई निर्देशन दिएपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई भने, ‘त्यस्तै मन्त्रीहरूलाई झण्डा हल्लाएर मन्त्री हुनका लागि मात्रै नभई हामीले काम गरेर देखाउनु पर्छ भन्दै मन्त्री र सचिवहरूले प्रभावकारी काम गर्नुहोस् ।’
प्रदेश संरचना प्रति प्रश्न उठिरहेको बेला राम्ररी काम गर्नुपर्ने दायित्व मन्त्री र सचिवहरूमा रहेकोमा उनले जोड दिए । अहिलेको सरकारले राजनीतिक स्थायित्व प्राप्त गर्ने भएकाले दायाँबायाँ नगरीकन काम गर्नुपर्ने बताए । उनले भने, ‘अहिलेको सरकारले राजनीतिक स्थायित्व प्राप्त गरेको छ तपाईँहरू दुबिधा नभई कन काम गर्नुस् ।’
उनले सबै मन्त्रालयहरूले कार्यक्षमता बढाएर बजेट कार्यान्वयन गर्नुपर्ने र राजस्व वृद्धि गर्न ध्यान दिनुपर्ने बताए । मुख्यमन्त्री कार्कीले चाँडै नै राजस्व कार्यालय स्थापना हुने र यस मार्फत प्रदेशको राजस्व बढाउनका लागि पहल गरिने जानकारी दिए ।
आन्तरिक राजस्व बढाएर काम गर्न सके प्रदेश सरकार बलियो हुने उनले धारणा राखे । पुल, बाटो, सडकलाई मात्रै विकासको रूपमा हेरिरहेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले मानवीय विकासका सुचांकमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।