काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) बन्द गर्ने विषयमा सहमति जनाएको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पका सल्लाहकारसमेत रहेका अर्बपति एलन मस्कले उक्त जानकारी दिएका हुन्।
मस्कका अनुसार ट्रम्पले युएसएआइडीलाई ‘पागलद्वारा सञ्चालित संस्था’ को संज्ञा दिएका छन्। मस्क स्वयंले पनि उक्त एजेन्सीलाई ‘आपराधिक संगठन’ भएको आरोप लगाउँदै आफ्नो एक्स (पूर्व ट्विटर) पोस्टमा लेखेका छन्, “युएसएआइडी आपराधिक संगठन हो।” उनले एजेन्सीलाई ‘दुष्ट सिआइए काम’ का गतिविधिमा संलग्न भएको समेत बताएका छन्।
“मैले राष्ट्रपति ट्रम्पसँग युएसएआइडीका गतिविधिबारे विस्तृत छलफल गरेको छु। उहाँले यो एजेन्सी बन्द गर्ने सहमति जनाउनुभएको छ,” मस्कले पत्रकार सम्मेलनमा बताएका छन्। साथै, उनले युएसएआइडीले करदाता नागरिकको रकम प्रयोग गरी कोभिड–१९ जस्ता जैविक हतियारसम्बन्धी अनुसन्धानलाई सहयोग गरेको आरोप समेत लगाए।
राष्ट्रपति ट्रम्पले पनि युएसएआइडीको भविष्यबारे निर्णय लिने बताएका छन्। मस्कको प्रशंसा गर्दै उनले भने, “मस्कले राम्रो काम गरिरहेको महसुस गरेको छु।” उनले युएसएआइडीलाई “कट्टरपन्थी पागलहरूको समूहले सञ्चालन गरेको” दाबी गर्दै भने, “हामी उनीहरूलाई बाहिर निकाल्दैछौं, त्यसपछि यसको भविष्य निर्धारण गर्नेछौँ।”
राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि ट्रम्पले वैदेशिक सहायता तीन महिनाका लागि स्थगित गरिसकेका छन्। यद्यपि, खाद्यान्न तथा अन्य मानवीय सहायता कार्यक्रम भने यथावत् रहने जनाइएको छ। युएसएआइडीले हाल विश्वभर मानवीय राहत र विकास सहायता कार्यक्रमका लागि वार्षिक ४२ अर्ब ८० करोड डलर को बजेट व्यवस्थापन गरिरहेको छ।