काठमाडौँ । नयाँ बानेश्वरस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गत दर्ता भएका बहुमूल्य धातु तथा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई लक्षित गर्दै करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। नयाँ बानेश्वर व्यापार व्यवसायी संघको सहकार्यमा आयोजित उक्त कार्यक्रम २०८१ माघ १८ गते, शुक्रबार सम्पन्न भएको हो।
कार्यक्रममा कर अधिकृत भवानीप्रसाद पौडेलले सुन, चाँदी तथा अन्य बहुमूल्य धातु व्यवसायी (सूचक संस्था) का लागि २०७७ मा जारी निर्देशनका परिमार्जित व्यवस्थाहरूबारे विस्तृत प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी व्यवसायीहरूले कच्चा पदार्थको सहज उपलब्धता सुनिश्चित गर्न पहल गरिदिन आग्रह गरेका थिए। साथै, सुनको मूल्य विगत चार वर्षमा अत्यधिक वृद्धि भएकाले ग्राहक प्रतिको बिक्री अभिलेख १० लाख रुपैयाँको सिमा राख्न व्यवहारिक कठिनाइ भएको उल्लेख गर्दै सो प्रावधान पुनरावलोकन गर्नुपर्ने व्यवसायीहरूको सुझाव रहेको थियो।

कार्यक्रममा नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्षले व्यवसायमैत्री कानुनी व्यवस्था तथा अनुकूल वातावरणको आवश्यकता औंल्याउँदै, व्यवसायीहरूले प्रचलित कानुनको पूर्ण पालना गर्नु अपरिहार्य रहेको बताएका थिए।
यस्तै, प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले व्यवसायीका जिज्ञासाहरू सम्बोधन गर्दै, वर्षेनी १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले अनिवार्य रूपमा कम्प्युटर बिलिङ (कम्प्युटर बिलिङ) प्रणाली लागू गर्नुपर्ने तथा २५ करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीले सेन्ट्रल बिलिङ मनिटरिङ सिस्टम (सीबीएमएस) मा समावेश हुनुपर्ने व्यवस्था रहेको प्रस्ट्याए। साथै, व्यवसायबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने कानुनी प्रावधानको पालना गर्नुपर्ने उनले जोड दिए।
‘इग्नोरन्स अफ ल’ इज नो एक्सक्युज’ भन्ने कानुनी मान्यता अनुरूप करदाताहरूलाई जानकारी गराउन यस्ता कार्यक्रमहरू निकै उपयोगी हुनेू निष्कर्षसहित कार्यक्रम समापन गरिएको थियो। कार्यक्रमको सञ्चालन कर अधिकृत बेदप्रसाद खनालले गरेका थिए।







