काठमाडौँ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले संगठन सुदृढीकरण र विकासको नयाँ नीति बनाएको छ ।
बाँकेको नेपालगन्जमा सम्पन्न दुई दिने पूर्ण बैठकले पार्टी केन्द्रले बनाएको जरा अभियान अन्तर्गत तीन महिने अभियानलाई अगाडि बढाउने निर्णय गरेको छ । बैठकमा छवटा समूहमा विभाजन गरी पार्टी सञ्चालनमा देखिएका समस्या, सुधारका उपाय, संगठन सुदृढीकरण तथा आगामी कार्य योजना तयार गरेको प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।
बैठकमा पार्टीका सबै जिल्ला तथा पालिकास्तरमा प्रचार डेस्क स्थापना गर्ने र कार्यकर्तालाई विभिन्न क्षेत्रमा सेवा प्रवाहका लागि विशेषज्ञ डेस्क बनाउने निर्णय गर्नुका साथै, स्थानीय तहबाटै विकास आयोजना छनोट गर्ने विधि निर्माण गरी पार्टीका इन्चार्जहरू नागरिकका समस्यासँग प्रत्यक्ष जोडिने नीति अख्तियार गरिएको जनाइएको छ ।
त्यसैगरी भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, गरिब नागरिकका लागि आधारभूत घर निर्माण गर्ने अभियान अघि बढाउने, विकासका कामहरूलाई प्रभावकारी प्रचार गर्ने तथा प्रत्येक विकासे संस्थाले गरेको कार्यको श्वेतपत्र जारी गर्ने व्यवस्था मिलाउने कुरामा बैठकले जोड दिएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न आवश्यक उपाय अपनाइने तथा संगठन निर्माणलाई अझ प्रभावकारी बनाइने निर्णय गरिएको छ ।
बैठकमा पार्टी केन्द्रीय सचिव प्रदेश इन्चार्ज पद्यमा अर्यालले अहिले सामाजिक अराजकताले चुनौती सिर्जना गरेको भन्दै योजनाबद्ध आक्रमणको सामना गर्न सबै कार्यकर्ता दृढ भएर लाग्नुपर्ने बताइन्। पार्टी निर्माण भावनात्मक रूपमा नभई एजेन्डामा आधारित भएर गर्नुपर्ने उनको भनाइ थियो ।
बैठकले विभिन्न जिल्लाबाट नयाँ प्रदेश सदस्यहरू मनोनयन गर्ने निर्णय गरेको छ ।
नयाँ प्रदेश सदस्यहरूमा दाङबाट कृष्ण भुषाल, गोविन्द आचार्य, रामप्रसाद गैरे, वृहस्पति श्रेष्ठ, रोल्पाबाट गंगाराम बुढा, रुपन्देहीबाट जोगलाल विक, युवराज घिमिरे, मधुकला कुँवर, अब्दुल रहमान, कपिलवस्तुबाट विश्राम चौधरी, लंक हमाल, भगवानदास चौधरी, अब्दुल रहमान खान, बर्दियाबाट टिका सम्सेली, रामसोहन चौधरी, बाँकेबाट भुमिसरा धिताल, रामकुमार दीक्षित, प्युठानबाट धनबहादुर रायमाझी, तुलसी शर्मा, पुरन गुरुङ, रुकुमपूर्वबाट भावना बुढाथोकी अर्घाखाँचीबाट इश्वरा पोखरेल, सरोज भुसाल, सिद्धि भुसाल, गुल्मीबाट सावित्रा आचार्य, चेतन बस्नेत, चिन्तामणि पाण्डेय, पाल्पाबाट नारायण जिसी, नारायण आचार्य मनोनीत भएका छन् ।







